‘नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट फाइदा लिन सकेन’
भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोटर्स क्लबले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यायले भारतले आर्थिक विकासमा फड्को मारेपनि नेपालले त्यसको फाइदा लिन नसकेको बताएका हुन्।
काठमाडाैं, माघ ११ : भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट फाइदा लिन नसकेको बताएका छन्।
भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोटर्स क्लबले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यायले भारतले आर्थिक विकासमा फड्को मारेपनि नेपालले त्यसको फाइदा लिन नसकेको बताएका हुन्।
नेपालमा अहिले आर्यघाटमा जाने बेलासम्म सत्तामा बस्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई फाल्नुपर्नेमा उनले जोड दिए। उनले सरकारको तर्फबाट भ्रष्टाचारविरुद्धमा राम्रो काम भएको भन्दै गहिराइमा गएर अन्वेषण गर्नुपर्ने धारणा राखे।
उपाध्यायले नेपालमा समस्या भएको उल्लेख गर्दै अब समस्या कसरी समाधान गर्ने भन्नेतर्फ सोच्नुपर्ने बेला आएको बताए।
त्यस्तै एमाले नेता डा.राजन भट्टराईले आधुनिक नेपालको राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताए। नेपालका दुई छिमेकी मुलुकहरु अहिले तीब्रतर समृद्धिको बाटोमा रहेका बताउँदै उनले दुई छिमेकी मुलुकहरुबाट नेपालले पनि सिक्न आवश्यक रहेको बताए। नेता भट्टराईले नेपालले छिमेकी देशको तुलनामा विकास र समृद्धिमा किन पछि पर्यो भनेर सोच्न जरुरी रहेको बताए।
त्यस्तै उहाले देशका समृद्धि र विकासका लागि संविधान र व्यवस्था, वातावरण, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बाधक नरहँदा पनि मुलुकले गति लिन नसकेको जिकिर गरे। नेता भट्टराईले वर्तमान सरकार अल्मलिरहेको टिप्पणी पनि गरे।












