दोब्बर मूल्य राखेर सेनेटरी प्याडमा भ्रष्टाचार गरेको अभियोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
काठमाडौं, माघ ११ : विद्यालयमा सेनिटरी प्याड वितरण गर्ने भन्दै वास्तविक मूल्य भन्दा दोब्बर मूल्य राखेर भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध कारबाहीका लागि मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सामुदायिक विद्यालयका छात्राहरूका लागि आर्थिक वर्ष २०७७/७८ मा सेनिटरी प्याड वितरण गर्न गाउँपालिकामा विनियोजित बजेटबाट ९ लाख ११ हजार ९२५ रूपैयाँ पर्ने सेनिटिरी प्याड १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरेर अस्वाभाविक रूपमा बढी मूल्य तिरी लाभ लिएको अख्तियारले जनाएको छ।
विद्यालयका लागि सेनिटरी प्याड खरिद गर्दा लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साहसमेतको मिलेमतोमा उक्त भ्रष्टाचार भएको दाबी अख्तियारको छ। भ्रष्टाचारमा समोल अभियुक्तलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप विगो असुल र जरिवाना गरी जेल सजायको माग छ।