कर्णालीमा शतप्रतिशत, कुन प्रदेशमा ककसले गरेनन् मतदान?
फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि मतदान भएको हो। १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए।
काठमाडाैं, माघ ११ : राष्ट्रियसभाको १९ सदस्यका लागि भएको निर्वाचन सम्पन्न भएको छ। बिहीबार बिहान ९ बजे सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो। सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएकाे छ।
१९६ मतदाता रहेको कर्णालीमा शतप्रतिशत मत खसेको छ। सुदूरपश्चिममा २२६ जनाले मतदान गरे। त्यहाँ धनगढी उपमहानगरपालिकाका गोपी हमालले मत नखिसालेकाे बताइएकाे छ। थप एकजनाले पनि त्यहाँ मतदान गरेनन्।
कोशीको निर्वाचनमा धरानका हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अनुपस्थित भए। झापा गाउँपालिकाका जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उनले मतदानमा सहभागी हुन पाएनन् ।
मधेस प्रदेशमा एक जना मतदाता बाहेक सबैले मतदान गरेका छन्। १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख–उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७४ जनाले मतदान गरे।
त्यस्तै बागमतीमा ३४७ मतदाता रहेकोमा काठमाडौं महानगरका मेयर बालेन शाहसहित ५ जना मतदानमा अनुपस्थित भए। गण्डकीमा २२९ जनाले मतदान गरे।
उक्त प्रदेशमा सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली मतदानमा सहभागी भएनन्। त्यस्तै लुम्बिनीमा ३०५ जना मतदाता रहेकोमा स्थानीय तहको दुई मत कम खसेको छ।
फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि मतदान भएको हो। १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए।
निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।
हाल कायम प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ।












