राष्ट्रियसभाका लागि मतदान अन्तिम चरणमा
बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ।
काठमाडौं, माघ ११ : राष्ट्रिय सभा निर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ।
कर्णाली प्रदेशमा मतदान सम्पन्न भइसकेको छ। कर्णालीमा १९६ जना मतदाता मतदानमा सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कर्णाली प्रदेश सभाबाट चुनिने तीन जना राष्ट्रिय सभा सदस्यका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ।
यता, कोशी प्रदेशमा पनि मतदान सकिएको छ। प्रदेश सभा सदस्य सबैले मतदान गरिसकेका छन्। कोशीमा ९३ जना प्रदेश सभा सदस्य छन्। कोशीका स्थानीय तहका २७३ मध्ये २७१ जनाले मतदान गरेका छन्। गण्डकी प्रदेशमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ। प्रदेश सभा सदस्यतर्फ सबैले मतदान गरिसकेका छन्। पालिकातर्फको मतदान पनि सकिने चरणमा पुगेको जनाइएको छ। गण्डकीमा ६० जना सांसद छन् भने ८५ वटा स्थानीय तह छन्।
लुम्बिनी प्रदेशमा पनि मतदान अन्तिम हुँदै छ। केवल १० भोट मात्र खस्न बाँकी रहेको जनाइएको छ। यहाँका १२ जिल्लामा कुल १०९ स्थानीय तहका २१८ जना प्रमुख–उपप्रमुख र ८७ जना प्रदेश सभा सदस्यसमेत गरी कुल ३०५ जना मतदाता छन्। यस्तै, मधेस प्रदेशमा प्रदेश सभाका एक र स्थानीय तहका १ गरी कूल २ जनाले मतदान गर्न बाँकी छ। सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत मतदाताले मत खसाइसकेका छन्।
बागमती प्रदेशमा पनि अब ६ जनाले मात्रै मतदान गर्न बाँकी छ। स्थानीय तह तर्फबाट चार जना र प्रदेश सभा सदस्य दुई जनाले मात्र मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश सभा सदस्यहरूको मतभार ५३ र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिका प्रमुख–उपप्रमुखको मतभार १९ छ। बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ।












