नाटक ‘मासिन्या’को विशेष मञ्चन
बुधबार साहित्य, कला, संगीत,राजनीति र सञ्चार क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा नाटकको विशेष मञ्चन गरिएको थियो।
काठमाडाैं, माघ ११ : थापागाउँस्थित मण्डला थिएटरमा नाटक 'मासिन्या'को विशेष मञ्चन गरिएको छ।
बुधबार साहित्य, कला, संगीत,राजनीति र सञ्चार क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा नाटकको विशेष मञ्चन गरिएको थियो। नाटकमा विशेषतस् तामाङ समुदायले भोग्दै आएको उत्पीडननको कथालाई प्रस्तुत गरिएको छ। त्यसैमा समुदायको जीवनपद्धति, संस्कृति, लय र परिवेशहरु नाटकमा देख्न सकिन्छ।
तामाङ समुदायमाथि गरेको विभेद र अत्याचारको जीवन्त प्रस्तुत नाटकमा रहेको विशेष मञ्चनमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बताए। 'यो नाटक मात्र होइन पीडा हो। यसलाई युवा पीढीले बुझ्नुपर्यो,' उनले भने, 'यस्तो पीडाको विरुद्धमा संघर्ष गर्नुभन्दा अरु उपाय नै छैन। यो देशभरी देखाउनुपर्छ र आफ्नो अधिकार पहिचानको लागि संघर्ष गर्नुपर्छ।'ु उनले तामाङ समुदायमाथि मासिन्या भनेर राज्यले गरेको विभेद प्रायोजित व्यवहार रहेको समेत धारणा राखे। उनका अनुसार आफ्नो समुदाय र नागरिकलाई नाटक जस्तो माध्यम नै जनचेतना बढाउने उपाय हो।
नाटकले सडकमा उभिएर आन्दोलन र भाषण गरेभन्दा पनि शक्तिशाली सन्देश दिएको तर्क गर्दै आदिवासी अभियन्ता आङ्काजी शेर्पाले सम्पुर्ण तामाङ समुदाय र विश्वभर आदिवासी माझ यसलाई पुर्याउन आव्हान गरे। उनले भने, 'यो हाम्रो उत्पीडनको कथा हो। यही कुरा राज्यले बुझेको भए आज सडकमा आन्दोलन गर्नुपर्ने अवस्था आउने थिएन। नाटकका यी दृश्यहरु प्रचण्ड र आङकाजीले बोलेको भाषणभन्दा शक्तिशाली छ। यसलाई प्रत्येक तामाङ बस्तीमा लानुपर्छ।'ु
ताम्सालिङ संघर्ष समितिका सदस्य सचीव तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले नाटकलाई अभियानकै रूपमा सम्भव भएसम्म सातै वटा प्रदेशमा पुर्याउने सुनाए।
राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। नाटक बिहीबारदेखि माघ २८ गतेसम्म मञ्चन जारी रहनेछ। नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान,रविन दोङ,विकास लामा,इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउद लगायतका कलाकारहरुको अभिनय रहेको छ।












