Kathmandu Press

हाम्राे संकल्प : व्यावसायिक धर्म, जनताप्रति उत्तरदायी

काठमाडौं प्रेस डट कम थप परिपक्व हुँदैछ। अझै माझिएर अघि बढ्दैछ। पत्रकारिता व्यवसायमार्फत देश र समाजलाई कसरी योगदान दिन सकिन्छ भनेर हामी दत्तचित्त भएर लागिपरेका छौं।
हाम्राे संकल्प : व्यावसायिक धर्म, जनताप्रति उत्तरदायी

सूचना, समाचार र विचार प्रवाह गर्ने पवित्र उद्देश्यसहित स्थापना भएको काठमाडौं प्रेस डट कमले आज पाँच वर्ष पूरा गरी छैटौं वर्षमा पाइला टेकेको छ। दिनप्रतिदिन अनलाइन माध्यमहरूको पहुँच आम पाठक एवं दर्शकमाझ विस्तार हुँदैछ। सूचना प्रविधिका कारण छिटोछरितो भएकाले पनि अनलाइनले व्यापकता पाएको हुन सक्छ। लोकतान्त्रिक मूल्य मान्यताका आधारमा व्यावसायिक अभ्यासमा खरो रुपमा उत्रन अनेक चुनौती छन्। व्यावसायिकताका नाममा व्यापारका दृष्टिले विकाउ समाचारमा बढी ध्यान गइरहेको सन्दर्भ पनि एकातिर छ। 

हामीलाई राम्ररी थाहा छ, सूचना दिनु मात्र पत्रकारिता होइन। पत्रकारिता निश्चत धर्म र मान्यतामा अडिएर मात्र चल्छ। यति मात्रै भएर पनि पुग्दैन। सूचना सम्प्रेषणमा गुणस्तर वृद्धि र विश्वसनीयता पनि चाहिन्छ नै। काठमाडौं प्रेस डट कम थप परिपक्व हुँदैछ। अझै माझिएर अघि बढ्दैछ। पत्रकारिता व्यवसायमार्फत देश र समाजलाई कसरी योगदान दिन सकिन्छ भनेर हामी दत्तचित्त भएर लागिपरेका छौं। निष्पक्ष भएर भूमिका निर्वाह गर्न संविधानले सुम्पेको दायित्व व्यवहारबाटै पूरा गरेर देखाउने प्रतिबद्धता हाम्रो छ। प्रेस स्वतन्त्रताको विषय समग्र नागरिकको हितमा हुनुपर्ने मान्यतालाई शिरोपर गर्नेछौं। स्वेच्छाचारिता हुन नदिनेतर्फ हामी सचेत छौं। सही सूचना र विचारमार्फत नै नागरिक जागरण ल्याउन सकिन्छ भन्ने दृढ मान्यता हामीले राखेका छाैं। 

Hardik ivf

अहिले मुलुकमा देखापरेको चौतफी आर्थिक मन्दीका कारण बजेट, स्रोत, साधन, जनशक्ति, प्रविधि यावत् कारणले चुनौतीको सामना गर्नुपर्ने बाध्यता नभएको होइन। सञ्चार माध्यमबीच नै अस्वस्थ प्रतिस्पर्धाको अर्को चक्र पनि छँदैछ। बजारमा टिकेर आजको दिनसम्म आइपुग्न आफ्नै संघर्षको छुट्टै अनुभवको संगालो पनि नभएको होइन। तैपनि अनुभवबाट अझै खारिँदै, हुर्कंदै अघि बढ्दैछौं। निरन्तर प्रवाहमा छौं। हामीले आजका दिनसम्म आइपुग्दा विश्व बजारमा भित्रिएका नवीनतम प्रविधिलाई आफ्नो सामर्थ्यले भ्याएसम्म प्रयोग गर्दै आम नागरिकको सूचना पाउने हकलाई जीवन्त राख्न सतत् प्रयत्न गर्दै आएका छौं। ‘पर्फेक्ट’ भन्ने त कहीँ पनि हुँदैन। हाम्रो अग्रगतितर्फको यात्रा जारी छ। जुनसुकै परिस्थितिमा पनि सदैव लोकतन्त्र र परिवर्तनको पक्षमा उभिनेछौं। लोकतान्त्रिक मूल्य मान्यताप्रति पूर्ण सचेत छौं। 

६ वर्षे अवधिमा काठमाडौं प्रेस महत्वपूर्ण राजनीतिक घटनाक्रमको प्रत्यक्ष साक्षीसमेत बनेको छ। हामीलाई खुसी छ, प्राविधिक पक्षमा फरक प्रस्तुति दिँदै अनलाइनहररूको भिडमा चाँडो स्थापित हुन सकेका छौं। पाठक वर्गको विश्वास नै हाम्रो अमूल्य सम्पत्ति हो। यो विश्वासलाई कदापि मर्न दिनेछैनौं। काठमाडौं प्रेसलाई पाठकसम्म पुर्‍याउनेक्रममा अवश्य पनि हामी उद्याेगी, व्यापारी, कर्पोरेट हाउसहरु, सरकारी एवं गैरसरकारी संस्थाहरुसँग समेत जोडिनेछौं। तर व्यावसायिक धर्म अनि पाठकप्रतिको कर्तव्यबाट कहिल्यै च्युत भने हुनेछैनौं। आवाजविहीन वर्गको पक्षमा पूर्ण समर्पित रहँदै विकृति र बेथितिविरुद्ध खबरदारी निरन्तर जारी रहनेछ। नेपाली समाजको सांस्कृतिक, धार्मिक, भाषिक, राजनीतिक भावनाको सम्मान गर्दै विविधताको जगेर्नामा हाम्रो संवेदनशीलता रहिरहनेछ। मुलुकको विकास, सुशासन र समृद्धिको पक्षमा स्थानीय विषयलाई पनि राष्ट्रिय खबर बनाउने हाम्रो ध्येय रहनेछ।

अन्त्यमा काठमाडौं प्रेसलाई यहाँसम्म ल्याइपुर्‍याउने पाठक वर्ग, उद्याेगी, व्यवसायी, विज्ञापनदाता, शुभचिन्तक सबैप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछौं। यहाँहरुको सुझाव, माया र सहयोग नै हाम्रा प्रेरणाका स्रोत हुन्। फेरि पनि विश्वास छ, आगामी दिनमा पनि यो माया र सद्भावको हात झनै फैलनेछ। आगामी दिनमा पनि सधैंझैं सबैसँगको सहकार्य र सकारात्मक आलोचनाको अपेक्षा छ। सकारात्मक आलोचनासँगै प्राप्त सुझावले सही मार्गदर्शन गर्ने हाम्रो ठम्याइ छ। र, यहाँहरुकै इच्छाअनुसार काठमाडौं प्रेसलाई थप परिमार्जन गर्दै फरक स्वाद पस्किनेछौं। फेरि पनि सधैंझैं सद्भाव र शुभेच्छाको अपेक्षासहित यस क्षणमा सबै सहयोगी मनप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं।

प्रकाशित मिति: ११:२० बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डढेलो नियन्त्रण आजको आवश्यकता
डढेलो नियन्त्रण आजको आवश्यकता
‘जब चिनी तीतो हुन्छ’
‘जब चिनी तीतो हुन्छ’