न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीहरु आन्दोलनमा
पार्किङ निषेधले व्यापार घट्ने भएपछि निर्णय सच्याउन उनीहरूले दबाब दिएका छन्।
काठमाडौं, माघ ९ : काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीहरु आन्दोलनमा उत्रिएका छन्।
उनीहरु सटर बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरूले वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरिरहेका छन्। पार्किङ निषेधले व्यापार घट्ने भएपछि निर्णय सच्याउन उनीहरूले दबाब दिएका छन्।
काठमाडौं महानगरपालिकाले आज (मंगलबार) देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो। तदनुसार आजदेखि न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखिसकेको छ।
महानगरपािलकाले धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पतालवरिपरिका सडकमा पार्किङ निषेध गरेकाे हाे। महानगरले यसअघि नै झोछें, दरबारमार्ग क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयनमा ल्याइसकेको छ।
न्युराेडमा पार्किङ निषेध गरेर महानगरले विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाउने बताएकाे छ।
यसबाट न्युरोड क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने अपेक्षा छ। तर न्युरोड क्षेत्रका व्यापारीहरुले व्यापार घट्ने भन्दै महानगरपालिकाको निर्णय सच्याउन माग गरेका छन्।












