मर्मत भइरहेका ट्वीनेटरको पर्यटनमन्त्रीद्वारा अनुगमन
लामो समय बिग्रिएर थन्किएको ट्वीनेटर मर्मत भएपछि दुर्गम क्षेत्रमा उडान भर्ने मन्त्री किराँतीले जानकारी दिए। ट्वीनेटर मर्मत सकिएसँगै सञ्चालन हुन नसकेका बिमानस्थलहरुलाई पनि सञ्चालनमा ल्याइने उनले बताए।
काठमाडौं, माघ ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १२ वर्ष अघिदेखि ग्राउन्डेड भइ मर्मत भइरहेको नेपाल वायुसेवा निगमको ट्वीनेटर जहाजको निरिक्षण गरेका छन्।
बिहीबार त्रिभुवन विमानस्थल पुगेरमन्त्री किराँतीले मर्मत भइरहेको तीनवटा ट्वीनेटर जहाज अवस्थाको निरिक्षण गरेका हुन्।
लामो समय बिग्रिएर थन्किएको ट्वीनेटर मर्मत भएपछि दुर्गम क्षेत्रमा उडान भर्ने मन्त्री किराँतीले जानकारी दिए। ट्वीनेटर मर्मत सकिएसँगै सञ्चालन हुन नसकेका बिमानस्थलहरुलाई पनि सञ्चालनमा ल्याइने उनले बताए।
उनले प्राविधिक समस्या आएका कारण केही दिन ग्राउन्डेड भएर पुन सञ्चालनमा भएको निगमको वाइडबडी बिमानको पनि निरिक्षण गरेका छन्। वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि निगमको वाइडबडी बिमान केही दिन ग्राउन्डेड भएको थियो।
मर्मत भएसँगै दुवई उड्न लागेको विमानको अवस्थाबारे मन्त्री किराँतीले जानकारी लिए। उनले निरन्तर उड्ने विमानमा प्राविधिक समस्या देखिएपछि मर्मत गरी समस्या समाधान गरिएको बताए।
त्यस्तै मन्त्री किराँतीले विमानस्थलको अवस्थाबारे पनि जानकारी लिदै न्यूनतम स्रोत साधनको प्रयोग गरेर यात्रुमैत्री बनाउन खोजिएको र जसका कारण यात्रुहरुलाई सहज हुने उल्लेख गरे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीले बिगतको तुलनामा अन्तराष्ट्रिय उडानका यात्रुहरुको संख्या ३० प्रतिशत बढेको र आन्तरिक यात्रुको पनि संख्या बढकाले पूर्वाधारको विस्तारमा ध्यान दिइएको बताए।
अन्तर्राष्ट्रिय टर्मिनलमा सुधारका काम भइरहेको भन्दै उनले आन्तरिक टर्मिनलको आवागमन कक्ष विस्तार भइरहेको बताए। उनले विमानस्थलको पार्किङमा देखिएको समस्या पनि समाधान गर्नेगरि काम भइरहेको जानकारी दिए।












