Kathmandu Press

नेपालमा विदेशी चलचित्रको छायांकन

रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई बढावा दिने भएकाले विश्वका अन्य देशले छायांकनलाई आकर्षित गरिरहेको प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए।
नेपालमा विदेशी चलचित्रको छायांकन

काठमाडौं, माघ ४ : कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्यझैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड २’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ। 

उक्त स्थानको श्रव्यदृश्य सार्वजनिक भएसँगै नेपालको झल्को दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छन्। त्योभन्दा बढी उक्त चलचित्रका निर्माता, निर्देशकले ठाउँ नै निर्माण गर्न गरिने खर्चको सट्टा नेपाल आएर छायाङ्कन किन गरेनन् भन्ने छ। त्यहाँभन्दा नेपालमा वास्तविक दृश्य प्राप्त हुनुका साथै खर्च पनि कम हुन्छ। यसको जवाफ सम्बन्धित निकायसँग पनि छैन। 

Hardik ivf

रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई बढावा दिने भएकाले विश्वका अन्य देशले छायांकनलाई आकर्षित गरिरहेको प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए। उनले नेपालमा ‘उचाइ’, ‘फर्जी’ जस्ता चलचित्र र वेब शृङ्खलामा काम गरिसकेका छन्। 

'उहाँहरूलाई चाहिने सहजता दिन हामीलाई सहज छैन। उनीहरूको कथाअनुसार देखाइनुपर्ने दृश्य र खिचिने सामग्रीका लागि कतिपय कानुनी झन्झट पनि छन्', म्यानेजर रेग्मीले भने। उनले एकद्वार प्रणालीमार्फत विदेशी चलचित्रलाई दिइनुपर्ने इजाजत दिएमा विस्तारै विदेशी चलचित्र नेपालमा छायाङ्कनका लागि आउने बताए। 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले देखिएका समस्या चलचित्र नीति बनेपछि समाधान हुने बताए। 'विविध समस्या छन्, तर नीति म अभिनेता बन्नुभन्दा अगाडिको छ। त्यसैले अहिले देखिएका समस्या समाधान गर्दैन। त्यसैले चलचित्र नीति चाँडै बन्नेछ', बोर्ड अध्यक्ष केसीले भने।

सन् १९७२ मा भारतीय अभिनेता देवानन्द र जिनत अमामको चलचित्र ‘हरे रामा हरे कृष्णा’को छायाङ्कन काठमाडौँमा गरिएको थियो। त्यसयता ‘महान’, ‘युद्ध’, ‘खुदा गवा’, ‘बेकाबू’, ‘घरवाली बाहारवाली’, ‘लव इन नेपाल’, ‘बेबी’, ‘दिल धड्क धड्क’, ‘द गोल्डेन चाइल्ड’, ‘बाराका’, ‘लिटल बुद्ध’, ‘सेभेन इयर्स इन तिब्बत’, ‘द फल’, ‘रिर्टन्ड स् चाइल्ड सोल्जर्स अफ नेपाल्स माओइस्ट आर्मी’, ‘द वाइल्डेस्ट ड्रिम’, ‘बियोन्ड द एज’, ‘एभरेस्ट’ लगायतका चलचित्र छायाङ्कन गरिएको छ। 

प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, माघ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्