काठमाडौंको फोहोर व्यवस्थापनबारे अध्ययन गर्दै विज्ञ समूह
विज्ञहरूको टोलीले एक महिनासम्म काठमाडौंमै बसेर फोहोरको उत्पादन, प्रकृति, वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापनलाई विभिन्न कोणबाट अध्ययन गर्ने उनले बताए।
काठमाडौं, माघ ४ : काठमाडौं महानगरपालिकाले घरेलु फोहोरको दिगो समाधानका लागि विज्ञ समूहबाट त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन गर्ने भएको छ।
अध्ययनका लागि महानगरपालिकाले भारतीय विज्ञसहितको समूह तयार गरेको छ।
महानगरपालिकाले भारतको इन्दोर सहरको फोहोर व्यवस्थापनमा खटिएका विज्ञसहितको टोलीलाई काठमाडौंको फोहोर व्यवस्थापनका लागि त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गर्ने जिम्मेवारी दिएको हो।
‘८ वर्षको अवधिमा इन्दोरले घरेलु फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरेको छ। यसकारण भारतको सफा सहरका रुपमा परिचित भएको छ । त्यस नगरले गरेका काम काठमाडौंसँगको सान्दर्भिकता हामीले अध्ययन गराउन चाहेका हौँ,’ महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले भने।
विज्ञहरूको टोलीले एक महिनासम्म काठमाडौंमै बसेर फोहोरको उत्पादन, प्रकृति, वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापनलाई विभिन्न कोणबाट अध्ययन गर्ने उनले बताए।
विज्ञ समूहमा इन्दोर नगर, घरेलु फोहोर व्यवस्थापन विभाग (सोलिड वेस्ट म्यानेजमेन्ट डिपार्टमेन्ट)का सूचना, शिक्षा र सञ्चार विज्ञ (आइईसी एक्पर्ट) अमित चौहान बुधबार नै काठमाडौं आइपुगेका छन्।
उनले सफाइका लागि सहरबासीको सचेतना र सहभागिता आवश्यक हुने बताए। ‘यसले फोहोर वर्गीकरणमा सघाउ पुग्छ । स्रोतमा फोहोर वर्गीकरण भयो भने व्यवस्थापनको काम सहज हुन्छ,’ उनको भनाइ छ।
काठमाडौं महानगरपालिकाले दैनिक करिब २४० मेट्रिक टन फोहोर महानगरपालिकाले ल्याण्डफिल साइटमा पु¥याउने गरिएको छ। अन्य वडाहरुमा निजी क्षेत्रले फोहोर संकलन गरेर करिब ५ सय मेट्रिक टन फोहोर साइटमा पु¥याउँछन्।
उपत्यकासहित नुवाकोट र धादिका पालिकासहित ल्याण्डफिल साइटमा दैनिक १ हजार ६ सय मेट्रिक टन फोहोर लैजाने गरिएको छ ।












