पीडित गाैशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने एक जना पक्राउ
पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्युरोले जनाएकाे छ।
काठमाडौं, माघ ३ : सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडित गाैशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने एक जना पक्राउ परेको छन्।
पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्युरोले जनाएकाे छ। राईविरूद्ध विद्युतीय अपराध ऐनअनुसारको कसुरमा अनुसन्धान गर्न सात दिन म्याद थप गरिएकाे जनाइएको छ।
पीडित गौशाला २६ को भन्दै तस्बिर राख्ने अन्यको पनि खोजी भइरहेको ब्युरोले जनाएकाे छ। यो विषयमा अनुसन्धान गरिदिन अनुराेध गर्दै ब्युरोसमक्ष पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन्।
जिल्ला अदालत काठमाडौंले पुस १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेर पुस २५ गते ८ वर्ष वर्ष जेल सजायसहित ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो। त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्बिर तथा व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए।












