Kathmandu Press

जिम्मेवारी सम्हालेको एक वर्षमा १०१ वटा काम गरेको पर्यटनमन्त्रीकाे दाबी

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा आफूले गरेका मुख्यमुख्य काम र उपलब्धि सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किरातीले एक वर्षमा केही कानूनको तर्जुमा, सुधार र नियमावलीलाई समयसापेक्ष बनाउनेलगायत १ सय १ वटा काम गरेको बताएका हुन्।
जिम्मेवारी सम्हालेको एक वर्षमा १०१ वटा काम गरेको पर्यटनमन्त्रीकाे दाबी

काठमाडाैं, माघ ३ : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले आफूले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा १ सय १ वटा काम गरेको बताएका छन्।

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा आफूले गरेका मुख्यमुख्य काम र उपलब्धि सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किरातीले एक वर्षमा केही कानूनको तर्जुमा, सुधार र नियमावलीलाई समयसापेक्ष बनाउनेलगायत १ सय १ वटा काम गरेको बताएका हुन्।

Hardik ivf

उनले आफूले मन्त्रालय सम्हालेको पहिलो तीन महिनामा सामान्य सुधारका काम गरेको र ९ महिनामा मध्यमस्तरको काम गरेको भन्दै आगामी दिनमा क्रम भंग गरेर काम गर्ने दाबी गरे। किराँतीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरू गरेको भन्दै नेपालमा पर्यटन प्रवर्द्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजि कार्य अघि बढाएको बताए।

उनले पर्यटन क्षेत्रमा फड्को मार्न सक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने उल्लेख गरे। त्यस्तै मन्त्री किरातीले दुर्गम क्षेत्रको उडानमा लक्षित गरेर नेपाल वायुसेवा निगमको जहाज खरिदको टेण्डर अन्तिम चरणमा रहेको, १२ वर्षदेखि ग्राउण्डेड निगमको टुइनअटर जहाज मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन लागिएको बताए।

उनले नेपालदेखि अष्ट्रेलियाको सिड्नी उडानको तयारी अन्तिम चरणमा रहेको भन्दै क्षेत्रीय विमानस्थलमा उडानका लागि ३ र अन्तर्राष्ट्रिय उडानका लागि ३ न्यारोबडी जहाजको लिजमा लिने प्रक्रिया अघि बढाइएको, चिनियाँ जहाजको लिलाम बिक्री अघि बढाइएको, निगमको सावाँ–ब्याजको ५ अर्ब किस्ता तिरेको उल्लेख गरे। मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी निगमबाट खोस्ने कुनै आधिकारिक निर्णय नभएको पनि प्रष्ट पारे।

मन्त्री किराँतीले पशुपतिनाथको सरसफाइ, जग्गाको हालसाविक र हराएको जग्गा खोजी भइरहेको र लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि निर्देशन दिइएको, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेशको अन्तिम चरणमा पुगेको पनि जानकारी दिए।

उनले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तीमा अनावश्यक विवाद सिर्जना गरिएको भन्दै कोषको इतिहासमा पहिलो पटक जनजाति समुदायबाट महिला नियुक्त गरिएको दाबी गरे। त्यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव ल्हारक्याल लामा पनि योग्य व्यक्ति भएकाले नियुक्ति गरिएको प्रस्ट पारे। 

प्रकाशित मिति: १६:२० बजे, बुधबार, माघ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्