माओवादीद्वारा दुई वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही, एकजनालाई स्पष्टीकरण
कारबाहीमा पर्ने वैकल्पिक केन्द्रीय सदस्यहरूमा भक्तपुरका विरु तमाङ र कपिलवस्तुकी उमा विक छन्।
काठमाडौं, माघ ३ : माओवादी केन्द्रले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा दुई वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।
कारबाहीमा पर्ने वैकल्पिक केन्द्रीय सदस्यहरूमा भक्तपुरका विरु तमाङ र कपिलवस्तुकी उमा विक छन्। उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको परिपत्रमा उल्लेख छ। माओवादी केन्द्रको पुस २८ गते बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई कारवाही गर्ने निर्णय गरेको परिपत्र जारी गरेको हो।
यस्तै अर्का वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीलाई स्पष्टीकरण सोध्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ। भूकम्प प्रभावित क्षेत्रमा चीनले सरकारका तर्फबाट राहत सामग्री वितरणका गर्ने क्रममा विवाद उत्पन्न हुँदा चिनियाँ टोली प्रमुख महिलामाथि हातपात भएको घटनालाई लिएर केसीलाई स्पष्टीकरण सोध्ने निर्णय गरएिको परिपत्रमा उल्लेख छ।
अर्का वैकल्पिक केन्द्रीय सदस्य नैनप्रसाद पहाडीले प्राविधिक कारण देखाएर दिएको राजीनामालाई स्वीकृत गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ।












