निगमको वाइडबडी जहाजमा समस्या, ५ सय बढी यात्रु काठमाडौं र दोहामा अलपत्र
निगमको वाइडबडी जहाजमा कम्प्युटर सेन्सरको खराबी देखिएपछि काठमाडौंबाट दोहो उड्नुपर्ने २ सय ७६ यात्रु र दोहाबाट काठमाडौं आउनुपर्ने २ सय ५६ यात्रु अलपत्र परेको बताइएको छ।
काठमाडौं, माघ २ : नेपाल वायुसेवा निगमको वाइडबडीमा खराबी देखिएको छ। जहाजमा कम्प्युटर सेन्सरको खराबी देखिएपछि ५ सय बढी यात्रु काठमाडौं र कतारको दोहामा अलपत्र परेका छन्।
सोमबार राति साढे १ बजे निगमको आरए–२३९ उडान नम्बरको ‘अल्फा लिमा जुलु’ जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या देखिएकाले जहाज ग्राउन्डेड गरिएको घोषणा गर्दै दोहा उडान रद्ध गरिएको थियो।
साेही कारण काठमाडाैं र दाेहामा यात्रु अलपत्र परेका हुन्। काठमाडौंबाट दोहो उड्नुपर्ने २ सय ७६ यात्रु र दोहाबाट काठमाडौं आउनुपर्ने २ सय ५६ यात्रु अलपत्र परेको बताइएको छ।
काठमाडौंमा अलपत्र परेका यात्रुलाई राति २ बजे सुन्धारा, गौशाला र ज्ञानेश्वरमा गरी तीनवटा होटलमा राखिएको बताइएको छ।
जहाज कतिबेला मर्मत हुने यकिन नभएपनि समयमै सामान आए तीन दिनमा मर्मत हुने निगम स्रोतले जनाएको छ।
निगमसँग दुईवटा न्यारो र दुइटा वाइडबडी जहाज छन्। यीमध्ये एउटा न्यरोबडी मर्मतका लागि इजरायलमा पठाइएको छ। अर्को वाइडबडी दुबईबाट फर्किँदै छ।
त्यो जहाज मंगलबार बेलुकी जापानको नारिता उड्नुपर्ने तालिका भएपनि काठमाडौंबाट दिल्ली जानु पर्ने वा दिल्ली उडान रद्ध गरेर दोहो उड्नुपर्ने छ। त्यहाँबाट फर्केर जापान बेलैमा उड्ने तालिका प्रभावित हुने सम्भावना छ।
यस विषयमा निगमले आधिकारिक रुपमा यात्रुलाई सूचना दिसकेको छैन ।












