महाकाली करिडोर विकासको मेरूदण्ड हो : नेता लेखक
विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियानअन्तर्गत अघि बढेको उल्लेख गर्दै उहाँले भारतको पूर्णागिरि दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुरामधामसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने बताए।-1704528178.jpg)
कञ्चनपुर, माघ २ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिंकरसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका छन्।
कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको जोगबुढासम्म पुग्नुभएका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताए।
‘साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ,’ उनले भने, ‘यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ।’
पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथ मन्दिरबाट परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुरामधामसित जोडेर विकास गर्नुपर्नेमा प्रमुख सचेतक लेखकले जोड दिए। करिडोर अनुगमन गर्दै परशुरामधाम पुगेका उनीसहितको टोली धाममा आयोजित मकर मेलामासमेत सहभागी भएको थियो।
‘करिडोरअन्तर्गत रुख कटानको समस्या चारवटै जिल्ला (कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला)मा हल भएर निर्माण अघि बढेको छ। करिडोरको ट्रयाक हुँदै यसपालि डडेल्धुरा आयौँ, अर्को पटक बैतडीसम्म पुग्ने योजना छ,’ प्रमुख सचेतक लेखकले बताए।
विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियानअन्तर्गत अघि बढेको उल्लेख गर्दै उहाँले भारतको पूर्णागिरि दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुरामधामसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने बताए।
‘हरेक वर्ष फागुनदेखि जेठसम्म लाखौँ भारतीय भक्तजन पूर्णागिरिपछि सिद्धनाथ मन्दिर दर्शन गर्न आउँछन्,’ नेता लेखकले भने, ‘अब सिद्धनाथ मन्दिर आउने पर्यटकलाई करिडोर हुँदै परशुरामधाम पुर्याउनेगरी प्रचार–प्रसारमा जोड दिनुपर्छ।’
उनले परशुराम धामको धार्मिक महत्वका बारेमा पूर्णागिरि मेला अवधिमा प्रचार–प्रसारमा जोड दिन आग्रह गरे। पछिल्लो समय महाकाली करिडोरको ट्रयाक खुलेपछि कञ्चनपुरको ब्रह्मदेव हुँदै जोगबुढा परशुरामधाम जानेको चहलपहल बढेको छ।
नेता लेखकले करिडोरका लागि आवश्यक बजेट सरकारले प्रबन्ध गर्ने र यसलाई दोधारा चादँनी सुक्खा बन्दरगाहसित जोडेर आर्थिक नाकाका रूपमा समेत विकास गरिने बताए।
कञ्चनपुरबाट दार्चुलाको उत्तरीनाका तिंकर जोड्ने महाकाली करिडोरका कारण लामो समयपछि कञ्चनपुर–डडेल्धुराको यात्रा सहज हुनुका साथै यात्रुलाई समयको पनि बचत भएको छ। ब्रह्मदेवबाट दार्चुलाको उत्तरी नाका तिंकर भञ्ज्याङसम्मको चार सय १३ किलोमिटर सडक १३ वर्षदेखि निर्माणाधीन छ।












