‘संविधानले परिकल्पना गरेको विषयलाई कानुनद्वारा व्यवस्थित गर्नुहाेस्’
माघी पर्वका अवसरमा सोमबार शितल निवासमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सवै दलका संसदीय दलका नेताहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम गर्दै राष्ट्रपति पौडेलले संविधानको कार्यान्वयनका लागि आवश्यक ऐन छिटो भन्दा छिटो बनाउन ध्यानाकर्षण गराएका हुन्।
काठमाडौं, माघ १ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले परिकल्पना गरेको विषयलाई कानूनद्वारा व्यवस्थित गर्न दलहरुको ध्यानाकर्षण गराएका छन्।
माघी पर्वका अवसरमा सोमबार शितल निवासमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सवै दलका संसदीय दलका नेताहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम गर्दै राष्ट्रपति पौडेलले संविधानको कार्यान्वयनका लागि आवश्यक ऐन छिटो भन्दा छिटो बनाउन ध्यानाकर्षण गराएका हुन्।
संविधान पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा जनतामा निराशा छाएपनि कोही पनि पछाडि फर्कन नचाहेको उनले बताए।
राष्ट्रपति पौडेलले जनताले अधिकार पाएको संविधानलाई सबैले प्रशंसा गरेको भन्दै यसलाई व्यहारमा लागू गर्नुपर्ने जिकिर गरे। उनले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्न सवैले अठोट गर्नुपर्नेमा जोड दिए।
शितल निवासमा उपराष्ट्रपति रामशहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीना, कांग्रेस सभापति शेर बहादुर देउवा लगाएत बिभिन्न दलका नेताहरुको उपस्थिति थियो।