‘मानवजाति र जनावरबीचको समस्याको समाधान समुदाय र सरकार मिलेर गर्नुपर्छ’
उपप्रधानमन्त्री खड्काले लुम्बिनी प्रदेशको अन्न भण्डारका रूपमा रहेको बर्दियामा सिँचाइ आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजना निर्माण शीघ्र सम्पन्न गरी कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। यसका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने उनको भनाइ थियो।
बर्दिया, पुस २९ : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव र जनावरबीचको द्वन्द्व समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्नेमा जोड दिएका छन्।
बाँसगढी औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले निकुञ्ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा वर्षेनी वन्यजन्तुको वृद्धि भएको र जगली पशुपन्छीहरू उचित बासस्थान तथा आहारको खोजीमा निकुञ्ज क्षेत्र बाहिर निस्कँदा मानवीय क्षति हुने र बालीनालीमा समेत क्षति पुग्न गएको यो समस्याको समाधानका लागि संघीय सरकार गम्भीर रहेको बताए।
उपप्रधानमन्त्री खड्काले लुम्बिनी प्रदेशको अन्न भण्डारका रूपमा रहेको बर्दियामा सिँचाइ आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजना निर्माण शीघ्र सम्पन्न गरी कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। यसका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने उनको भनाइ थियो।
उपप्रधानमन्त्री खड्काले रासायनिक मलको अभाव, कृषियोग्य जमीनमा सिँचाइको अपर्याप्तता, कृषकहरूलाई उचित तालिम र प्रशिक्षणको अभाव, कृषिमा आधुनिक प्रविधि र पद्धतिको प्रयोग आवश्यक मात्रामा गर्न नसक्दा यहाँको कृषि क्षेत्रबाट जति मात्रामा फाइदा लिन सकिने हो त्यो लिनसकिएको बताउँदै प्रदेश र स्थानीय तहले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा मद्दत पुग्ने गरी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिए।
उनले मुलुकको अर्थतन्त्र सुधार र समाधानका लागि सरकारले प्रयास गरिरहेको र त्यसैका कारण अर्थतन्त्रमा सुधार देखिन थालेको भन्दै उद्योगी व्यवसायीलाई निराश नहुन आग्रह गरे।
आजदेखि सुरु हुन लागेको महोत्सवले यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटनको विकास गरी पर्यटन उद्योगलाई प्रवद्र्धधनमा सहयोग पुग्नेमा उनले विश्वास व्यक्त गरे।












