माओवादी केन्द्रले फाल्गुनको पहिलो साता विधान सम्मेलन गर्ने
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
काठमाडाैं, पुस २८ : नेकपा माओवादी केन्द्रले फाल्गुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। सम्मेलनमा सहभागीताका लागि प्रतिनिधि छान्न मापदण्ड बनाइएको उनले बताए।
त्यसअघि विधानको मस्यौदा पार्टीको तल्लो कमिटीमा छलफल गर्ने निर्णय बैठकले गरेको छ। बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि समन्वय समिति बनाउने निर्णय गरेको छ। समितिले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक तयारी गर्ने प्रवक्ता सापकोटाले बताए। त्यस्तै बैठकले पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको उहाले बताए।
बैठकमा मुलुकको वर्तमान परिस्थीतिका बारेमा प्रचण्डले जानकारी गराएको र प्रदेशका इन्चार्जहरुबाट पनि रिपोर्टिङ भएको प्रवक्ता सापकोटाले बताए। माओवादी अभियान अहिलेसम्मकै प्रभावकारी भएको रिपोर्टिङ आएको र माघ २६ गते बस्ने स्थायी कमिटीको अर्को बैठकमा थप छलफल गरिने उहाले जानकारी दिए।












