हस्तकला नीतिलाई पूर्णता दिने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता
'विकास र आर्थिक क्रियाकलापलाई केन्द्रमा राखिएको छ, सुशासनलाई त्यसको पूर्वसर्त बनाइएको छ', उनले भने 'सुशासनबिना परिणाम दिन सकिँदैन, सरकार त्यसप्रति सचेत छ।'
काठमाडौं, पुस २८ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको हस्तकला क्षेत्रको प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल हस्तकला महासंघको ४३औं वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने तथा सातै प्रदेशमा हस्तकलाग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल अघि बढाइने बताए।
मुलुकको तीव्र आर्थिक विकास नै आजको प्रमुख कार्य हो भन्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार यसका निम्ति क्रियाशील रहेको बताए। उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको उल्लेख गरे। 'विकास र आर्थिक क्रियाकलापलाई केन्द्रमा राखिएको छ, सुशासनलाई त्यसको पूर्वसर्त बनाइएको छ', उनले भने 'सुशासनबिना परिणाम दिन सकिँदैन, सरकार त्यसप्रति सचेत छ।'
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्राकारले हस्तकलाका उत्पादन निर्यात गरी मुलुकको आर्थिक अवस्थालाई सबल बनाउन सकिने दृष्टान्त दिँदै निर्यात प्रवर्धनमा सहजीकरण गर्न बागमती प्रदेश सरकार तयार रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग आग्रह गर्दै सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए। मुलुकको आर्थिक परिसूचकाङ्क सकारात्मक दिशाउन्मुख रहेका उल्लेख गर्दै उनले सकारात्मक भाष्यका साथ अघि बढ्न व्यवसायीलाई आह्वान गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्तकला क्षेत्रमा पुस्तान्तरणको अभाव देखिन थालेकामा चिन्ता व्यक्त गर्दै युवा पुस्तालाई पनि यस क्षेत्रमा आकर्षित गर्न विभिन्न योजना ल्याइनुपर्ने बताए। व्यापार घाटा घटाउन हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको जनाउँदै उनले निर्यात प्रवर्धनका लागि सरकारी सहयोग अभिवृद्धि हुनुपर्ने बताए।
नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले हस्तकला क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले निर्यात प्रवर्धनमा सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए। उनले अन्तर्राष्ट्रिय समुदायमा देशको कला, संस्कृति, पहिचान एवं गरिमा बढाउने हस्तकला क्षेत्र भएको उल्लेख गर्दै यसको प्रवर्धनमा सबैको सहयोग आवश्यक रहेकाे बताए।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हस्तकलाका सामग्रीलाई सौन्दर्यीकरणको भाव दिन प्रतिष्ठान क्रियाशील रहेको बताए। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्वबजारमा प्रतिस्पर्धी वस्तु उत्पादन गर्न उद्यमीलाई सुझाव दिए।
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले हस्तकला क्षेत्रको विकासमा तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताए। महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यवसाय प्रवर्धन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराइनुपर्ने बताए। उनले सम्पूर्ण सरकारी कार्यालयमा हस्तकलाका सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराए।












