Kathmandu Press

समसामयिक विषयमा राष्ट्रपतिद्वारा शीर्ष नेतृत्वको ध्यानाकर्षण

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले राजनीतिक दलहरूले आफूहरूले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकार दिने गरी तत्काल कानुन पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्नुपर्ने बताएका थिए।
समसामयिक विषयमा राष्ट्रपतिद्वारा शीर्ष नेतृत्वको ध्यानाकर्षण

काठमाडौं, पुस २७ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज शीतलनिवासमा छलफल गर्दै संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले राजनीतिक दलहरूले आफूहरूले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकार दिने गरी तत्काल कानुन पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्नुपर्ने बताएका थिए।

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिमा क्षमतावान् प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान शुरु गर्न पनि ध्यानाकर्षण गराएका थिए।

 

प्रकाशित मिति: १९:१८ बजे, शुक्रबार, पुस २७, २०८०