Kathmandu Press

ओरालो लागेको देश बचाउन फागुनदेखि राजधानी केन्द्रित आन्दोलन : लिङदेन

फरक प्रसंगमा उनले कोशी प्रदेशको सभामुखमा राप्रपा गएको विषयमा पार्टीभित्र विभिन्न मत देखिएको भन्दै पार्टीभित्रै छलफल गरेर उचित निर्णयमा पुगिने बताए।
ओरालो लागेको देश बचाउन फागुनदेखि राजधानी केन्द्रित आन्दोलन : लिङदेन

काठमाडाैं, पुस २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई एकताबद्ध गर्नेको सम्मान गर्दा कसैले हीनताबोध गर्न नहुने बताएका छन्। पृथ्वीजयन्तीका अवसर पारेर राप्रपाले आयाेजना गरेकाे शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले त्यस्ताे बताएका हुन्।

फरक प्रसंगमा उनले कोशी प्रदेशको सभामुखमा राप्रपा गएको विषयमा पार्टीभित्र विभिन्न मत देखिएको भन्दै पार्टीभित्रै छलफल गरेर उचित निर्णयमा पुगिने बताए।

उनले पार्टीले अघिसारेका विभिन्न एजेण्डा र मागमा दबाब दिन फागुनदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने उल्लेख गरे। उनले भने, ‘मेरो विश्वास छ, त्यो व्यापक हुनेछ । त्यसले देशमा परिर्वतन ल्याउने छ।’ देश निरन्तर ओरालो लागेको र यसलाई रोक्ने कुनै प्रयत्न नभएको भन्दै उनले ०८४ को चुनाव पर्खिन नसक्ने बताए।  ‘मेरो पूर्ण विश्वास छ, हामीले दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने छौं,’ उनले भने।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने लगाएतका विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी भएका थिए।

त्यस्तै सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ता, सर्वसाधारण लगायतको सहभागिता थियो। राप्रपाका अध्यक्ष लिङ्देनसहितका नेताले सहभागी विशिष्ट पाहुनालाई स्वागत गरेका थिए।  राप्रपाले प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ।

 

प्रकाशित मिति: १७:३९ बजे, शुक्रबार, पुस २७, २०८०