बेपत्ता पारिएका व्यक्ति खोज्न सिआईवी टोली बम्जनको आश्रम जाने
बेपत्ताका व्यक्तिका आफन्तले वम्जनमाथि छानविन र कारवाहीका लागि जाहेरी दिएका छन्। सीआईबीको टोली शुरुमा बम्जनको आश्रम सिन्धुपाल्चोक र बारामा जाने भएको हो।
काठमाडौं, पुस २७ : आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनविरुद्ध परेको जाहेरीका आधारमा बेपत्ता पारिएका व्यक्ति खोजतलासका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनको आश्रममा जाने भएको छ।
बेपत्ताका व्यक्तिका आफन्तले वम्जनमाथि छानविन र कारवाहीका लागि जाहेरी दिएका छन्। सीआईबीको टोली शुरुमा बम्जनको आश्रम सिन्धुपाल्चोक र बारामा जाने भएको हो। त्यसपछि सर्लाही जाने तयारी छ। बम्जनले सञ्चालन गरेको सिन्धुपाल्चोकको बाँडेगाँउस्थित आश्रमबाट हेटौँडाका सञ्चलाल बाइबा, नुवाकोटकी चिनिमाया तामाङ र मकवानपुरकी फूलमाया रुम्बालाई बेपत्ता पारिएको जनाइएको छ।
यस्तै, बाराको खुमजोर आश्रमबाट सुरेशकुमार आलेलाई बेपत्ता पारेको आरोपमा जाहेरी परेको छ। आश्रमको थप अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने अपेक्षा सिआइबीको छ।
बम्जनलाई जिल्ला अदालत सर्लाहीले बिहीबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। बम्जनविरुद्ध पहिलोपटक जिल्ला अदालत सर्लाहीले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो। त्यसयता लुकेर हिंडेका बम्जनलाई गत मंगलबार बुढानिलकण्ठ हात्तिगौंडाबाट प्रहरीले पक्राउ गरेको थियो।





