पृथ्वी जयन्तीमा सेनाको विशेष समारोह (तस्बिरहरू)
शुक्रबार जङ्गी अड्डामा एक विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पाहार अर्पण गरे।
काठमाडौं, पुस २७ : नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष समारोहको आयोजना गरी मनाइरहेको छ। देश तथा विदेशमा रहेका नेपाली सेनाहरुले विविध कार्यक्रमको आयोजना गरिरहेका छन्। शुक्रबार जङ्गी अड्डामा एक विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पाहार अर्पण गरे।
यसै सिलसिलामा पौष २१ गते गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका आरम्भकालीन पाँचवटा पल्टन (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी–हाल बर्दबहादुर तथा सबुज)को झण्डा र दिपज्योतिसहित सुरु भएको एकीकरण मार्ग पदयात्रा समापन भएको घोषणा गरिएको छ। गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेको पदयात्राको टोलीले शुक्रबार बिहान पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखेर नगर परिक्रमा गरेको थियो। परिक्रम पश्चात् जङ्गी अड्डामा पुगेर विशेष समारोहमा सरिक भएको थियो।
समारोहमा कविता प्रतियोगिताहरुबाट छानिएका कविताहरुको सँगालो ‘वीरताका गाथाहरु’ प्रधान सेनापतिले विमोचन गरे। कविता संग्रहमा सैनिक र गैरसैनिक सर्जकहरुका ८४ वटा कविताहरु संकलित छन्। यसैगरी यस वर्षको कविता प्रतियोगिताका उत्कृष्ट कविताहरुको वाचन एवं रिपुमर्दिनी सैनिक महाविद्यालयका छात्रछात्राहरुबाट लघुनाटक प्रस्तुत गरिएको थियो। कार्यक्रममा सुदिप थापा तथा रामप्रसाद कँडेलले नेपाली सेनासँगको सहकार्यमा निर्माण गरिएको थ्रिडी एनिमेटेड पृथ्वीनारायण वृत्तचित्र प्रदर्शन गरिएको थियो।












