जिम्मेवारीमुक्त न्यायाधीश थपलियाले बुझाए स्पष्टीकरण
थपलियालाई परिषदले सफाइ पेस गर्ने मौका प्रदान गरेको थियो।
काठमाडौं, पुस २७ : न्याय परिषदमा परेको उजुरीमा छानविनका लागि जिम्मेवारीमुक्त गरिएका उच्च अदालतका न्यायाधीश नवराज थपलियाले न्याय परिषद्मा स्पष्टीकरण पेश गरेका छन्। थपलियालाई परिषदले सफाइ पेस गर्ने मौका प्रदान गरेको थियो।
उनलाई परिषदको जाँचबुझ समितिले १५ दिन अघि स्पष्टीकरण सोधेको थियो। थपलियाले बिहीबार परिषद् सचिवालयमा सफाइ पेस गरेका हुन्। उनले आफुविरुद्ध लागेको आरोप पूर्वाग्रही रहेको बताउँदै खण्डन र प्रतिबाद गरेका छन्। गत पुस ८ गते बसेको न्याय परिषद् बैठकले सफाइ पेस गर्न सूचना दिई कारबाही प्रक्रिया अघि बढाएको थियो।
न्यायाधीश थपलियाविरुद्ध कार्यक्षमता, आचरण र कर्तव्य पालना नगरेको आरोप छ। यस बिषयमा परिषदले सर्वोच्चका न्यायाधीश तिल प्रसाद श्रेष्ठको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको थियो।
न्याय परिषद् ऐनको दफा २१ मा आरोपित न्यायाधीशलाई संविधान, ऐन वा अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने देखिएमा न्याय परिषदले कारण र आधार खुलाई मनासिव अवधि तोकी सफाइ पेस गर्ने मौका दिनुपर्ने उल्लेख छ।












