Kathmandu Press

राष्ट्रियसभासँगै उपनिर्वाचनको चर्चा, इलाम २ प्रति विशेष चासो

निर्वाचन आयोगले रिक्त रहेका स्थानहरुमा आगामी बैशाखमा निर्वाचन गर्ने प्रस्ताव गरिसकेकाले दलहरु उप निर्वाचन केन्द्रीत छलफलमा जुटेका हुन्। उप निर्वाचनका लागि आकांक्षीहरुले दौडधुप बढाएसँगै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्।
राष्ट्रियसभासँगै उपनिर्वाचनको चर्चा, इलाम २ प्रति विशेष चासो

काठमाडौं, पुस २७ : राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी छिनोफानो गरेसँगै राजनीतिक दलका नेताहरु उप निर्वाचनबारे छलफलमा केन्द्रित हुन थालेका छन्। 

निर्वाचन आयोगले रिक्त रहेका स्थानहरुमा आगामी बैशाखमा निर्वाचन गर्ने प्रस्ताव गरिसकेकाले दलहरु उप निर्वाचन केन्द्रीत छलफलमा जुटेका हुन्। उप निर्वाचनका लागि आकांक्षीहरुले दौडधुप बढाएसँगै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार इलाम २ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभासहित देशभरका १७ वटा वडाध्यक्षको निधनका कारण पद रिक्त छन्। त्यसमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ समेत रिक्त छ। काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको पनि डेंगुका कारण निधन भएको हो। 

Hardik ivf

इलाम २ बाट निर्वाचित एमाले नेता सुवास नेम्वाङ र बझाङ प्रतिनिधि सभा १ प्रदेश सभा १ बाट निर्वाचित सांसद एवम सुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंहको निधन भएसँगै उक्त निर्वाचन क्षेत्र रिक्त भएको हो।

नेपालको संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ। यस्तै, संविधानकै धारा २१६ को उपधारा ९ मा नगरपालिकाको प्रमुख वा उपप्रमुख एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ। वडा अध्यक्षको हकमा पनि यहि कानूनी व्यवस्था छ। 

इलाम २ प्रति विशेष चासो

रिक्त रहेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनतर्फ शीर्ष दलहरुले विशेष चासो दिइरहेका छन्। उक्त निर्वाचन क्षेत्रबाट एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए। नेम्वाङको गत भदौ २५ गते राति हृदयघातका कारण निधन भएपछि उक्त स्थानको प्रतिनिधि सभा सदस्य पद रिक्त छ।

उपनिर्वाचन मिति तय नभए पनि निर्वाचन केन्द्रीत दौडधुप सुरु भएको छ। उपनिर्वाचनमा नेकपा एमालेसँगै नेपाली कांग्रेस र स्वतन्त्र पार्टीका नेताहरुले दौडधुप बढाएका छन्। एमाले कोशी प्रदेश कमिटीले जिल्लालाई तयारी थाल्न निर्देशन दिइसकेको छ।

आकांक्षीहरु निर्वाचन क्षेत्र र काठमाडौं ओहोरदोहोर गरिरहेका छन्। निर्वाचन आयोगले राष्ट्रिय सभाको माघमा र उपनिर्वाचन बैशाख पहिलो साता गर्ने यसअघि प्रस्ताव गरेको थियो। माघ ११ गते राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुँदैछ। 

२०५६ सालदेखि नेम्वाङले निरन्तर विजयी हासिल गर्दै आएको उक्त क्षेत्रमा उनको निधनपछि सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेका नेताहरुले चुनाव केन्द्रीत दौडधुप बढाएका हुन्। कांग्रेसबाट आकाक्षी देखिएका भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमालले दौडधुप बढाएका छन्। 

एमालेबाट बुद्धि खनाल, उदय राई, गणेश बराल, रविन्द्र सुवेदीलगायतका नेताहरु आकाक्षी देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र थापा र पत्रकार धर्म गौतमले इच्छा देखाएको बुझिएको छ। नेम्बाङका कान्छा छोरा सुहाङ, समाजवादीका सम्मानित नेता झलनाथ खनाल, रास्वपाबाटै अनिल केसरी शाहको नाम पनि अगाडि आइरहेको छ। 

लामो समयदेखि एमालेका उम्मेदवार विजयी बनेको यो क्षेत्रमा अब के हुन्छ भन्ने आँकलन गर्न गाह्रो छ। २०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले कांग्रेसका उम्मेदवार डम्बर खड्का पराजित भएका थिए। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खड्का यस पटक पनि उम्मेदवारीको दौडमा छन्। तर गठबन्धनका नेताहरुबिचको छलफल र कांग्रेसको आन्तरिक भागबन्डाका आधारमा उम्मेदवार टुंगो लाग्ने नेताहरु बताउने गरेका छन्। 
 

प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्