‘रुसी सेनामा भएकाहरू सरकारले अनुमति दिएर गएका होइनन्’
परराष्ट्रमन्त्री साउदले अफ्ठयारोमा परेका आफ्नो नागरिकको उद्धार गर्न सरकार जुनसुकै बेला पनि तयार रहेको बताए। उनले ८ वटा शव त्यहाँको शवगृहमा राखिएको जानकारी आएको उनले उल्लेख गरे।
काठमाडौं, पुस २७ : परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारेका छन्। उनले विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको बताए।
‘रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ। अरू धेरै जना जोखिममा पर्नुभएको छ। तर यो समस्या नेपाल सरकारको कारणले आएको होइन,’ शुक्रबार डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीले भने, ‘जो त्यहाँ गएको छ, रुसी सेनामा काम गरिरहेको छ, उनीहरू विद्यार्थी भिसामा, भिजिट भिसामा त्यहाँ पुगेका हुन् । भिसा प्रयोजनलाई तोडेर उहाँहरू त्यहाँको सेनामा भर्ना हुनुभएको छ।’
परराष्ट्रमन्त्री साउदले अफ्ठयारोमा परेका आफ्नो नागरिकको उद्धार गर्न सरकार जुनसुकै बेला पनि तयार रहेको बताए। उनले ८ वटा शव त्यहाँको शवगृहमा राखिएको जानकारी आएको उनले उल्लेख गरे।
‘आठ वटा शवहरू अहिले त्यहाँको शवगृहमा राखिएको कुरा मसँग आएको छ। हामीले ती शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल गरिरहेका छाैं,’ उनले भने, ‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यह त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौं।’
उनले देश छोड्ने बेला जो कसैले पनि एकपटक सोच्नुपर्ने बताए। ‘देश छोड्दा जो कसैले पनि एकपटक सोच्नुपर्छ। कहाँ जाँदैछु ? कस्तो देशमा जाँदैछु ? कुन कानूनीरुपमा ठीक छ, कुन ठीक छैन ? त्यो कुरामा सबैले ध्यान पु¥याउनु आवश्यक छ,’ उनले भने।
परराष्ट्रमन्त्री साउदले वर्तमान सरकारले परराष्ट्र सम्बन्धलाई सुधार गरेर सही ट्रयाकमा ल्याउन सफल भएको दाबी गरेका छन्।
इजरायलमा युद्धमा परेर हमासको नियन्त्रणमा परेका विपीन जोशीको उद्धारका लागि समेत सरकारले पहल गरिरहेको उनले बताए।
‘विपीन जोशीसमेत १३२ जना अहिले पनि हमासको नियन्त्रणमा छन्। उनीहरू विभिन्न देशका छन्,’ उनले भने, ‘हामीले उनको रिहाईका लागि इमान्दार प्रयास गरिरहेका छौँ । युद्धबन्दीकोरुपमा विपीन जोशीको जीवन सुरक्षित छ । हामीले निरन्तर प्रयास गरिरहेका छौँ।’












