सामाजिक सञ्जालमा परिचय खुलाउनेविरुद्ध पीडित किशोरीले दिइन् उजुरी
उजुरीमा सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्नेहरूलाई कारबाही माग गरिएको छ। प्रहरीका अनुसार गौशाला २६ ले आफ्नो वास्तविक नाम र तस्बिर सार्वजनिक गर्ने फेसबुक र एक्ससहित ६ वटा पेजविरुद्ध उजुरी दर्ता भएको छ। उजुरीपछि साइबर ब्युरोले अनुसन्धान समेत अघि बढाएको छ।
काठमाडौं, पुस २६ : क्रिकेटर सन्दीप लामिछानेबाट पीडित किशोरी ‘गौशाला २६’ ले सामाजिक सञ्जालमा परिचय खुलाउनेविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।
उजुरीमा सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्नेहरूलाई कारबाही माग गरिएको छ। प्रहरीका अनुसार गौशाला २६ ले आफ्नो वास्तविक नाम र तस्बिर सार्वजनिक गर्ने फेसबुक र एक्ससहित ६ वटा पेजविरुद्ध उजुरी दर्ता भएको छ। उजुरीपछि साइबर ब्युरोले अनुसन्धान समेत अघि बढाएको छ।
ती युवतीले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटरसम्बन्धी कसुर (विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर भएको भन्दै कारबाहीको माग गरेकी छन्।
गौशाला २६ को तस्बिर र वास्तविक नाम सार्वजनिक गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना कार्यकर्ता दिवश सापकोटालाई बिहीबारै निलम्बन गरेको थियो। जापानमा बस्दै आएका चितवन निवासी सापकोटालाई कारबाही गरिएको थियो। उनी रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान, च्युबू शाखा समिति सदस्य रहेको बताइएको छ।