एसईई खारेज नगरी प्रादेशिक रुपमा सञ्चालन गर्न बोर्डको सुझाव
समितिको छलफलमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्नेक्रममा अध्यक्ष डा.महाश्रम शर्माले उक्त राय व्यक्त गरेका हुन्। शर्माले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न आग्रह समेत गरे। बिना अनुसन्धान एसईई हटाउन नमिल्ने धारणा शर्माको थियो।
काठमाडौं, पुस २६ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने राय दिएको छ। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भएको छलफलमा बोर्डले उक्त राय सुझाव दिएको हो।
समितिको छलफलमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्नेक्रममा अध्यक्ष डा.महाश्रम शर्माले उक्त राय व्यक्त गरेका हुन्। शर्माले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न आग्रह समेत गरे। बिना अनुसन्धान एसईई हटाउन नमिल्ने धारणा शर्माको थियो।
‘छिमेकी मुलुकहरूमा समेत कक्षा ८, १० र १२ मा बोर्ड परीक्षा हुने प्रावधान रहेको हकमा नेपालमा हटाउनुको परिणाम सकारात्मक हुन्छ नै भन्ने ग्यारेन्टी छैन,’ शर्माले भने, ‘कक्षा ८ पछि १२ को परीक्षा लिने हो भने ५० प्रतिशत विद्यार्थी पास हुन्छन्, तर १० को परीक्षा हटाएमा यो दर ३० प्रतिशतमा झर्छ। १० कक्षामा अनुत्तीर्ण भए पनि विद्यार्थीले १२ सम्म पढ्ने तर १२ मा फेल भए पढाइ नै छोड्न सक्ने अवस्था आउँछ।’
उले एसईई खारेज गर्न नहुने बताउँदै केन्द्रीकृत नभई प्रादेशिक रूपमा हुनुपर्ने राय पनि व्यक्त गरे। विधेयकमा कक्षा ८ र १२ मा परीक्षा हुने उल्लेख गरिएको छ। उक्त प्रावधानले विद्यार्थीहरूको पढाइमा झन् कमी आउने भनाई अध्यक्ष शर्माको थियो। ‘यदि ८ कक्षामा परीक्षा गरेर सिधै १२ गर्दा बिचमा ४ वर्ष ग्याप हुन्छ,’ अध्यक्ष शर्माले भने, ‘चार वर्ष ग्याप हुँदा विद्यार्थीको पढाइ तथा मूल्याङ्कनमा थप कमी आउने हो कि भन्ने हाम्रो चिन्ता हो।’