आयल निगमको समस्या समाधान गर्ने मन्त्री रिजालको आश्वासन
बिहीबार काठमाडौंमा नेपाल आयल निगमको ५४औं वार्षिकोत्सवमा मन्त्री रिजालले आयल निगमका समस्याहरु समाधान गर्न सबैसँग बसेर विस्तारै समस्या समाधान गर्दै जाने बताए।-1704966051.jpg)
काठमाडौं, पुस २६ : उद्योगमन्त्री रमेश रिजालले नेपाल आयल निगमको समस्या समाधान गर्ने आश्वासन दिएका छन्।
बिहीबार काठमाडौंमा नेपाल आयल निगमको ५४औं वार्षिकोत्सवमा मन्त्री रिजालले आयल निगमका समस्याहरु समाधान गर्न सबैसँग बसेर विस्तारै समस्या समाधान गर्दै जाने बताए।
निगमसँग सहकार्य गर्दै आएका र सरोकारवाला निकाय तथा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अधिकारीहरुले निगम भित्रका समस्याप्रति गुनासो गरेका थिए। कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले पिएसएफको विषय, सातै प्रदेशमा पेट्रोलपम्प सञ्चालन गर्ने, चार्जिङ स्टेसन सञ्चालन गर्नेलगायत विषयमा भएको समस्या समाधान गर्न ध्यानाकर्षण गराए।
उनले भने, ‘जहाँ म उभिएर बोल्दै छु, यो ठाउँमा पेट्रोलपम्प सञ्चालन गर्ने भनेर हामीले प्रक्रिया अगाडि बढाएका थियौं। सडक विभागले नबनाउन भनेको छ। हाम्रै वरिपरी पेट्रोलपम्प सञ्चालन हुने तर, हामीले गर्न नपाउने, म माननीय सचिव र मन्त्रीज्युको ध्यानाकर्षण गराउँछु। पेट्रोल पम्प सातवटै प्रदेशमा सञ्चालन गर्नुपर्छ।’
उनले थपे, ‘रिन्यूएबल एनर्जीका कुरा, गोबर ग्यास, बायोडिजेलका कुरा छन्। जोड दिएर के भन्न चाहन्छु भने आइपिओ र सेयरका कुराका लागि अगाडि बढेर निगमको सुधारका लागि जानुपर्छ।’
त्यसपछि मन्त्री रिजालले भने, ‘साथीहरुको कुरा मैले सुनें। तपाईंहरुको कुरा मैले गम्भीरतापूर्वक लिएको छु। आयल निगमका समस्याहरु राख्नुभयो, यी कुराहरुमा विस्तारै बसेर समस्या समाधान गरिने आश्वासन दिन चाहन्छु।’ उनले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज र निर्वाध आपूर्ति सुनिश्चित गरी व्यवस्थापन गर्न र समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताए।
सोहीअनुसार उनले सिमरा बिमानस्थलमा हवाइ इन्धन रिफिलिङको काम सुरु गरिसकेको र पोखरा बिमानस्थलमा हवाइ इन्धन डिपोको शिलान्यास गरी काम सुरु गरेको जानकारी दिए। यस्तै उनले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगतको ड्रिलिङ कार्यलाई निरन्तरता दिन समन्वय गरिरहेको बताए।
‘भविष्यमा पेट्रोलियम पदार्थ माथिको निर्भरतालाई केही हदसम्म भएपनि कम गर्ने र नेपालमै पेट्रोलियम पदार्थको उत्खनन र प्रशोधन गर्ने दिर्घकालीन सोचका साथ दैलेख जिल्लामा अन्वेषण गन्तर्गतको ड्रिलिङ कार्य भैरहेको छ। यसका लागि ४५ रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याई ड्रिलिङ कार्यलाई निरन्तरता दिइएको छ,’ मन्त्री रिजालले भने।
यस्तै, पेट्रोलियम पदार्थमा बायोडिजल मिश्रण गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार भैसकेको मन्त्री रिजालले जानकारी दिए।












