१४ किलो सुन तश्करीमा छानविन गर्न अख्तियारलाई सरकारी वकिलको पत्र
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको उक्त सुनका बिषयमा तस्करीमा संलग्न सरकारी कर्मचारीमाथि अनुसन्धानका लागि सरकार वकीलले अख्तियारलाई पत्र लेखेको हो।
काठमाडौं, पुस २६ : चौध किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अख्तियारलाई पत्र लेखेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको उक्त सुनका बिषयमा तस्करीमा संलग्न सरकारी कर्मचारीमाथि अनुसन्धानका लागि सरकार वकीलले अख्तियारलाई पत्र लेखेको हो। सरकारी वकिल कार्यालयले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा भन्सार कार्यालयमा रहेका फाइल अख्तियारमा पठाउन समेत परिपत्र भएको छ। सम्पत्ति शुद्धीकरण विभागलाई पनि अनुसन्धान गर्न भनिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत मंसिर २१ गते राती फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो। उक्त प्रकरणमा भन्सार कार्यालयले सुन भन्सार चोरी पैठारी अभियोगमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। सुन चोरी पैठारीमा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको समेत संलग्न देखिएको अभियोग दाबी छ।
प्राधिकरणका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत सुन तस्करीमा संलग्न देखिएको अभियोगपत्रमा उल्लेख छ।कुनै निकायबाट निर्णय भएर आएको विषयलाई उजुरीका रुपमा ग्रहण गरी आयोगले अनुसन्धान अघि बढाउने अभ्यास छ।












