सिआइबीद्वारा तपस्वी रामबहादुर बम्जन सार्वजनिक
सिआइबीले महाराजगञ्जस्थित कार्यालयमा आज पत्रकार सम्मेलन गरेर बम्जनलाई सार्वजनिक गरेको हो।
काठमाडौं, पुस २५ : तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सार्वजनिक गरेको छ। उनी बुढानीलकण्ठस्थित आफ्नै घरबाट मंगलबार पक्राउ परेका थिए। सिआइबीले महाराजगञ्जस्थित कार्यालयमा आज पत्रकार सम्मेलन गरेर बम्जनलाई सार्वजनिक गरेको हो।
बाल यौन दूराचारको आरोप लागेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको सिआइबीका प्रवक्ता नवराज अधिकारीले बताए।
प्रहरीले बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ। बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेको सिआइबीको भनाइ छ। उनले हालै सेतो रङको ल्यान्डक्रुजर गाडी पनि खरिद गरेका थिए।उनीसँग क्रस फायर, केटिएम ड्युक, यामाहा, रे जेडआर स्कुटरलगायत चारवटा मोटरसाइकल पनि रहेको प्रहरीले जनाएको छ।












