पोषणयुक्त खाद्यपदार्थ सबैको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध : मन्त्री रिजाल
बुधबार काठमाडौंमा नेपालमै उत्पादित पोषणयुक्त चामलको विक्री वितरण शुभारम्भ गर्दै मन्त्री रिजालले सरकारले पोषणयुक्त चामल उत्पादन गरेर दुर्गमका नागरिकलाई वितरण गर्न लागेको बताए।-1704872681.png)
काठमाडौं, पुस २५ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पोषणयुक्त खाद्यपदार्थलाई सबै नागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपालले पोषणयुक्त आहारलाई हरेक नागरिकको मौलिक अधिकारकै रुपमा लिएको भन्दै मन्त्री रिजालले सरकारले सबै प्रकारका कुपोषणको अन्त्य गरेर सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने उदेश्य लिएको बताए।
बुधबार काठमाडौंमा नेपालमै उत्पादित पोषणयुक्त चामलको विक्री वितरण शुभारम्भ गर्दै मन्त्री रिजालले सरकारले पोषणयुक्त चामल उत्पादन गरेर दुर्गमका नागरिकलाई वितरण गर्न लागेको बताए।
‘सरकारले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिवद्धता र संविधानका व्यवस्थाबमोजिम अहिले पोषणयुक्त चामल उत्पादन गरेर वितरण गर्ने कार्यको प्रारम्भ गरेको छ,’ उनले भने, ‘सुरूवातमा सरकारले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोटमा गरी पाँच वटा जिल्लाबाट सहुलियत दरमा वितरण गरिनेछ।
यसका लागि अब निजी क्षेत्रले समेत चामलमा पौष्टिक तत्व स्तरोन्नति गरी उत्पादन र विक्री वितरणमा सहयोग पुर्याउने आशा गर्दछु।’ मन्त्री रिजालका अनुसार हाल बर्दियाको राजापुर र धनुषाको जनकपुरमा रहेका दुई वटा मिलमा दातृ निकायको सहयोगमा चालममा पौष्टिक तत्व स्तरोन्नति गर्ने उपकरण जडान गरिएको छ। र, सुरुवातमा त्यहाबाट उत्पादित चामललाई कर्णालीका दुर्गम जिल्लाबाट वितरण सुरू गर्न लागिएको हो।
‘नेपालमा अझैपनि पूर्णरुपमा खाद्य सुरक्षा कायम हुन सकेको छैन। कुपोषणलाई निर्मूल गर्नुपर्नेछ,’ उनले भने, ‘यसका लागि पौष्टिक तत्वको स्तरोन्नति गरिएको चामलको उत्पादन र प्रयोगलाई सबैले बढावा दिनु आवश्यक छ।’












