क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो ।काठमाडौं, पुस २५ : बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो ।
तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था छ । पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो ।
अदालतले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ (ङ) बमोजिम कसुर गरेको जनाएको छ । यस्तै, उपदफा ३ (ङ) मा १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने उल्लेख छ । यस्तोमा सन्दीपलाई कम्तिमा ७ र बढिमा १० वर्ष जेल सजाय तोकिने छ ।