ममता गुरुङको स्वरमा शुक्ला गण्डकी आरती
भुक्ति र मुक्ति दुवै प्रदान गर्ने भनेर गण्डकीलाई आमाको रूपमा पनि सम्बोधन गर्ने गरिन्छ। यिनै जीवनदायिनी शुक्लागण्डीको महिमा समेटेर पहिलोपटक आरती भजन सिर्जना गरिएको छ।
पोखरा, पुस २३ : सुन्दर शहर पोखराको मध्यभाग हुँदै बग्ने नदी हुन्– शुक्लागण्डकी। शुक्लागण्डकीलाई सेती गण्डकी वा सेती गंगा भनेर पनि चिनिने गरिन्छ।
त्यसो त भौतिक जीवनमा नदीहरूको अत्यन्तै धेरै महत्व रहिआएको हुन्छ। तथापि सप्तगण्डीभित्र पर्ने शुक्ला गण्डकीको भने भौतिक मात्र नभै आध्यात्मिक महत्व पनि उत्तिकै रहेको शास्रीय मान्यता रहिआएको छ। त्यसैले भुक्ति र मुक्ति दुवै प्रदान गर्ने भनेर गण्डकीलाई आमाको रूपमा पनि सम्बोधन गर्ने गरिन्छ। यिनै जीवनदायिनी शुक्लागण्डीको महिमा समेटेर पहिलोपटक आरती भजन सिर्जना गरिएको छ।
शुक्लागण्डकीको आरतीलाई शब्द कौतुकी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। आरतीमा ममता गुरुङ ले स्वर दिएकी छन्। शब्द रचना दिवाकर पौडेलको रहेको छ। संगीत संयोजन बच्चा सिंहको रहेको छ भने यसको अडियो मिक्सिङ तथा रेकर्डिङ कुमार के.सी.ले गरेका छन् । उक्त आरतीको दृश्यचित्रमा भिडियो निर्देशन, छायांकन तथा सम्पादन हरिकृष्ण रेग्मीले गरेका छन्।
यस म्युजिक भिडियोको छायांकनका लागि संस्कृत युवामञ्च नेपालका गुरुहरू गोकर्ण अधिकारी , विश्वराज सापकोटा, प्रकाश तिमिल्सिना , अर्जुन पौडेल , परागत तिमिल्सिना र शिव पौडेलले महाआरती गर्नुभएको छ। यसको निर्माण सर्जक स्वयंले गरेका हुन्। सर्जक दिवाकर पौडेलको यस अघि मुक्तिनथ एवं कालीगण्डकी आरती भजनकोे म्युजिक भिडियो सार्वजनिक तथा २०६५ सालमा ‘अद्भुत मिलन’ उपन्यास पनि प्रकाशित भइसकेको छ।












