राष्ट्रियसभा उम्मेदवारी छनोटप्रति महामन्त्री थापाको फरक मत
उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै महामन्त्री थापाले २ बुँदे लिखित असहमति राखेका हुन् । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेको १० सिटमध्ये संस्थापन पक्षका ७ र शेखर–गगन पक्षका ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ ।काठमाडौं, पुुुस २३ : नेपाली कांग्रेसमा राष्ट्रिय सभा उम्मेदवार चयनको निर्णयप्रति महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन् ।
उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै महामन्त्री थापाले २ बुँदे लिखित असहमति राखेका हुन् । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेको १० सिटमध्ये संस्थापन पक्षका ७ र शेखर–गगन पक्षका ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ ।
यही पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको मापदण्ड पालना नगरिएको उनको फरकमतमा उल्लखे छ । कांग्रेस केन्द्रीय समिति बैठकले कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाएको थियो ।
साथै सबै तह र तप्काकालाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वास पार्टीमा पुनः एकपटक खण्डित भएको महामन्त्री थापाको भनाइ छ । थापाले आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउने पनि उल्लेख गरेका छन् ।
असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा आफ्नो पूर्ण संलग्नता रहने थापाले स्पष्ट पारेका छन् ।












