यी हुन् राष्ट्रियसभा निर्वाचनका एमालेका १९ उम्मेदवार
महासचिव शंकर पोखरेलले वक्तव्य आज जारी गरेर उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका छन्।
काठमाडौं, पुस २२ : प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रियसभा निर्वाचनका लागि सबै १९ सिटकै उम्मेदवार टुंगो लगाएको छ। महासचिव शंकर पोखरेलले वक्तव्य आज जारी गरेर उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका छन्।
उक्त नामावलीअनुसार कोसीमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका पर्शुराम अधिकारी छन्। मधेसमा महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंह छन्।
बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यक अपंगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुव विश्वकर्मालाई अघि सारिएको छ।
गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगतातर्फबाट मुस्ताङका हेमचन्द्र शेरचन उम्मेदवार बन्ने भएका छन्। लुम्बिनीमा महिलातर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादु घर्ती उम्मेदवार बन्ने भएका छन्।
कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विक तथा सुदूरपश्चिममा महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाइएको छ।
राष्ट्रिय सभाका १९ सिटका लागि माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि सोमबार मनोनयन दर्ता हुँदैछ।












