नाम टुंगो लगाउन सत्तारूढ दलहरु आन्तरिक छलफलमा
आज बिहान बसेको बैठकमा एकीकृत समाजवादीले पाउने सिट बारे सहमति जुट्न बाँकी छ। कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने सहमति भएको छ। सिट बाँडफाँटमा सहमति भएसँगै नाम टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा जुटेका छन्।
काठमाडौं, पुस २२ : राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत १ सहित २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ। १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ। त्यसका लागि भोलि सोमबार (पुस २३ गते) उम्मेदवारी दर्ताको तालिका छ। सिट बाँडफाँटमा सत्तारुढ दलहरुबीच सहमति जुटेको छ।
आज बिहान बसेको बैठकमा एकीकृत समाजवादीले पाउने सिट बारे सहमति जुट्न बाँकी छ। कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने सहमति भएको छ। सिट बाँडफाँटमा सहमति भएसँगै नाम टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा जुटेका छन्।
कांग्रेसका शीर्ष नेता सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आन्तरिक छलफलमा छन्। संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र संसदीय प्रमुख सचेतक रमेश लेखक सहभागी छन् भने इतर पक्षबाट नेता शेखर कोइराला र महामन्त्री गगन थापा छन्। आजै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ ।
यसैगरी उम्मेदवार टुंगो लगाउने माओवादी केन्द्रका पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ। यस्तै एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा चलिरहेको छ। नेकपा एकीकृत समाजवादीले गठबन्धनमा भएको सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ। उसले तीन सिट दाबी गरेको थियो। तीन सिट नभए एउटा मन्त्री पाउनुपर्ने जिकिर उसले गरेकाे छ ।
यसैगरी जनता समाजवादी पार्टीको पनि उम्मेदवारको टुंगो लगाउन बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक चलिरहेको छ । कार्यकारिणी समितिको बैठक बसिरहेको जसपाका नेताहरूले बताएका छन्। सत्ता गठबन्धन बैठकले राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति जुटेको स्रोतले बताएको छ।












