राष्ट्रियसभाकाे मनोनीत सदस्यमा जनमोर्चाकी दुर्गा पौडेललाई पठाइने
पाैडेल प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट एमालेका सूर्य थापासँग पराजित भएकी थिइन्।
काठमाडौं, पुस २२ : सत्ता गठबन्धन बैठकले राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति जुटेकाे स्राेतले बताएकाे छ।
राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत १ सहित २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ। १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ। त्यसका लागि भाेलि साेमबार (पुस २३ गते) उम्मेदवारी दर्ताकाे तालिका छ। सिट बाँडफाँटका लागि सत्तारुढ दलहरुमा सहमित जुटेकाे छ।
आज बिहान बसेको बैठकमा एकीकृत समाजवादीले पाउने सिट बारे सहमति जुट्न बाँकी छ। कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने सहमति भएकाे छ। साेही क्रममा राष्ट्रपतिले मनोनीत गर्ने सदस्यबारे पनि सहमति जुटाएकाे बताइएको छ।
पौडेल नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी हुन्। उनी प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट एमालेका सूर्य थापासँग पराजित भएकी थिइन्।












