अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री दाहालले पाए सफाइ
अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारवाही गरिपाँउ भनी निवेदन दिएका थिए।
काठमाडौं, पुस २० : प्रधानमन्त्री पुष्पकमल दाहालले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदाबी नपुग्ने’ निर्णय गरेपछि उनले सफाइ पाएका हुन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले २०७३ वैशाख अन्तिम साता द्वन्द्वकालीन मुद्दाबारे दिएकाे एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेप्दै आएका थिए।
उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारवाही गरिपाँउ भनी निवेदन दिएका थिए। फैसलाको पूर्णपाठ आउन बाँकी छ।
उक्त मुद्दा लामो समय सर्वोच्चमा अड्किएको थियाे। मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो। माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको र दिउँसै रात पार्ने प्रपञ्च भएको भनाइ उनले राखेका थिए।












