शिवाई पुल निर्माणको काम सुरु माग गर्दै भौतिक पूर्वाधारको ध्यानाकर्षण
अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु भएको पुल दुई वर्षअघि अन्तिम चरणमा रहेका बेला बाढीले बगाएको थियो।
काठमाडाैं, पुस १९ : उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा बाढिले बगाएको शिवाई पुल निर्माणको काम सुरु माग गर्दै उदयपुरका राजनीतिक दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन्।
अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु भएको पुल दुई वर्षअघि अन्तिम चरणमा रहेका बेला बाढीले बगाएको थियो। त्यसपछि उक्त पुलको निर्माण कार्य अघि नवढेकोको भन्दै सरोकारवालाले मन्त्री ज्वालाको ध्यानाकर्षण गराएका हुन्। उनीहरुले उक्त पुल निर्माणको काम अघि बढ्ने प्रतिवद्धता नआएसम्म उदयपुर नफर्कने जनाएका छन्।
उदयपुरका संघीय सांसद नारायण खड्काले उक्त पुल अघि बढाउने आश्वासन पटक पटक आएपनि सुरु हुन नसकेको भन्दै पुल बनाउने वातावरण बनाउनुपर्ने बताए। उनले बिभिन्न बहानामा जिम्मेवारीबाट पन्छिएर पुन नवनाउन खोजिएको तर्क गरे।
मन्त्री ज्वालाले उक्त पुल निर्माणका लागि आफु निरन्तर छलफलमा रहेको भन्दै पुल बन्नुपर्छ भन्नेमा बिमति नरहको बताए। आयोजना प्रमुख नयाँ आएकाले पुल सम्बन्धमा अध्ययनको समय माग गरेकाले केहि ढिलाई भएको उनको भनाइ छ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाका पूर्व मेयर खगेन्द्र राईले लामो समय हुँदा पनि पुल निर्माण कार्य सुरु नभएपछि मन्त्री ज्वालाको ध्यानाकर्षण गराएको बताए। उनले अव पनि पुल निर्माणमा ढिलाई भए दवावका कार्यक्रमसम्म गर्ने वा स्थानीय स्रोत साधनबाट बनाउने भन्नेबारे छलफल गर्ने उल्लेख गरे।
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्ही जोड्ने त्रियुगा ननीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको हो। ३ सय ७ मिटर लम्बाइ रहेको १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई पट्टी रहेको पहिलो र दोस्रो पिल्लर नदीमा भाँँसिएको थियो।












