Kathmandu Press

संविधानको मर्मविपरीत शिक्षा विधेयक नल्याउन स्थानीय तहको ध्यानाकर्षण

विधेयकमा परामर्शमा लागि आज समितिले आयोजना गरेको बैठकमा सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संयुक्तरूपमा लिखित असन्तुष्टि जनाउँदै विधेयकको प्रस्तावले संविधानतः प्राप्त स्थानीय तहको अधिकारलाई सङ्कुचन गर्ने जिकिर गरे।
संविधानको मर्मविपरीत शिक्षा विधेयक नल्याउन स्थानीय तहको ध्यानाकर्षण

काठमाडौं, पुस १९ : नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० नेपालको संविधानको मर्म र भावनाविपरीत हुनेगरी नल्याउन सांसदहरूको ध्यानाकर्षण गराएको छ।

विधेयकमा परामर्शमा लागि आज समितिले आयोजना गरेको बैठकमा सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संयुक्तरूपमा लिखित असन्तुष्टि जनाउँदै विधेयकको प्रस्तावले संविधानतः प्राप्त स्थानीय तहको अधिकारलाई सङ्कुचन गर्ने जिकिर गरे। उनीहरूले सङ्घीयता र तीन तहका सरकारका एकल अधिकारलाई बेवास्ता गरी विधेयक ल्याइएको र शिक्षक–कर्मचारीसँग आफूलाई थाहा नदिइ सहमति गरेकाले त्यसको पालना हुन नहुनेमा जोड दिए। 

Hardik ivf

विधेयकको नाम नै ‘सङ्घीय शिक्षा ऐन’ राख्नुपर्ने आग्रह गर्दै उनीहरूले स्थानीय सरकारको विधायकी अधिकारलाई हस्तक्षेप गरेर कानुन बनाइए संवैधानिक इजलाश र आवश्यक परे सडकमा उत्रने चेतावनी दिए। बैठकमा नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारी, माध्यमिक शिक्षक युनियनका अध्यक्ष ज्ञानप्रसाद भट्टराई, माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष टीकाप्रसाद न्यौपाने लगायतले विगतमा शिक्षकको दरबन्दी र अध्यापन अनुमतिपत्रको व्यवस्थापन नगरी कक्षा ११ र १२ सञ्चालन गरिएकाले समस्या बल्झिएकाले आफूहरूको स्थायित्व हुने अवसरलाई नगुमाउन माग गरे।

भोलि शुक्रबारको बैठकमा अस्थायी/राहत शिक्षकका संस्थासँग छलफल गरिने समितिका सभापति भानुभक्त जोशीले जानकारी दिनुभयो। बैठकमा सांसदहरूले छलफल वस्तुगत र तथ्यका आधारित हुनुपर्ने र स्थितिको तथ्याङ्कीय प्रस्तुति सरकारले दिनुपर्ने माग गरे। समितिको बुधबारको बैठकमा नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग छलफल भएको थियो।

संसद्मा विधेयक प्रस्तुत भएपछि आन्दोलिन शिक्षक र कर्मचारीसँग सरकारले गत असोज ५ गते र असोज १० गते सहमति गरेको थियो। प्रतिनिधिसभामा गत असोज २१ गते सैद्धान्तिक छलफलपछि दफाबार संशोधनका लागि विधेयक समितिमा गएको हो।

चिकित्सक डा. दाहाललाई अपमान नगर्न आग्रह

बैठकले काठमाडौँ विश्वविद्यालयबाट सम्बनधनप्राप्त काठमाडौँ मेडिकल कलेज अस्पतालले पाठ्यक्रमभन्दा बाहिर गएर काममा खटाउँदा नमानेका आधारमा आवासीय चिकत्सक डा विशद् दाहाललाई कलेज प्रवेशमा नौ दिनदेखि रोक लगाएका विषयमा चासो दिएको छ। सांसद डा तोषिमा कार्कीले सो विषयमा प्रश्न उठाउँदै विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको पत्रकोसमेत अवज्ञा गर्ने सो कलेजलाई कारबाही गराउन माग गरेपछि सभापति जोशीले बैठकमा सहभागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीलाई सो विषयमा गम्भीर भई सहजीकरण गर्न र उक्त कलेजमा कुनै अप्रिय घटना हुन नदिन निर्देशन दिए।

प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्