गठबन्धनमा टुंगिएन राष्ट्रिय सभाको सीट बाँडफाँट, एमालेसँग प्रस्ताव मागिने
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हामीलाई जिरो नगर्नु’ भन्ने खालको प्रस्ताव आएको भन्दै छलफल पूर्ण रुपमा टुंगो नलागेको बताए।
काठमाडौं, पुस १८ : एमालेले आफूलाई शून्य नपार्न गरेको आग्रहले सत्ता गठबन्धदलका दलहरुबीच राष्ट्रिय सभा सदस्यको सीट बाँडफाँटका लागि भएको छलफल निष्कर्षविहीन भएको छ।
बालुवाटारमा बुधबार साँझ बसेका शीर्ष नेताहरुले सत्ता गठबन्धनका दलहरुले कति कति सीटमा आफ्ना उम्मेदवार उठाउने भन्ने टुंगो गर्न सकेनन्।
बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भागबन्डाबारे छलफल नटुंगिएको बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हामीलाई जिरो नगर्नु’ भन्ने खालको प्रस्ताव आएको भन्दै छलफल पूर्ण रुपमा टुंगो नलागेको बताए।
‘२० सिट खाली छ, त्यसमा एमाले पार्टीकै प्रतिनिधिहरु रहेको ९ सिट खाली छ । यसमा हामी कसरी जान्छौं भन्ने खालको सल्लाह भयो, सल्लाह टुंगिएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीलाई एमाले अध्यक्षले हामीले जिरो नगर्नु भन्ने खालको प्रस्ताव आयो भनेर बुझौ, त्यसपछि हामीले यस बारेमा बुझेर मात्रै टुंगो गरौ भन्ने छ।’
बैठकले एमालेले उसको प्रस्तावको के हो स्पष्ट जवाफ गर्ने निर्णय गरेको छ। त्यसपछि मात्र गठबन्धनमा सिट बाँडफाँड टुंगो लाग्ने उनले बताए।
‘एमालेको प्रस्ताव के हो हामीलाई जिरो नगर्नु भनेपछि के हो माग, त्यो स्पष्ट भएको छैन, त्यसको उताबाट त्यो स्पष्ट रुपमा आएपछि कुराकानी गर्न सजिलो हुन्छ,’ नेता पाण्डेले भने।
यस्तै एमाले र कांग्रेसको आपसी सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्यो सहमति ‘कन्डिस्नल’ रहेको बुझ्नुपर्ने बताए।
बैठकमा भारतीय परराष्ट्र मन्त्री आउने, भारतसँग भएका कतिपय सन्धिहरु छन् मध्य पञ्चेश्वर र महाकाली सन्धिका उल्लेख भएका कुरामा कसरी जाने त्यसको तयारी बारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको पनि पाण्डेले जानकारी दिए।












