वैदेशिक रोजगारीको प्रलोभन देखाएर १० करोड ठगी गर्ने पक्राउ
पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका–१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामा र तेह्रथुमको म्याङलुङ नगरपालिका-२ घर भई काठमाडौंको गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफे छन्।
काठमाडौं, पुस १७ : वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका–१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामा र तेह्रथुमको म्याङलुङ नगरपालिका-२ घर भई काठमाडौंको गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफे छन्। उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट सोमबार पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
काठमाडौंको महाराजगंजमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका लामाले वैदेशिक रोजगारीको लागि लिथुवानिया, क्यानडा, सिंगापुरलगायतका देशमा आकर्षक रोजगारी र तलबको प्रलोभन देखाएर १० करोड रुपैयाँ बढी ठगेको प्रहरीले जनाएको छ।
लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। उक्त रकम ठगी गरी फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले शंखमूलबाट पक्राउ गरेको हो।
कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको पनि प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। अनुसन्धानको क्रममा उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानीसमेत बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाउको छ।
यस्तै, कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गर्ने जुनु तुम्बाहाङफेलाई पनि प्रहरीले प्रक्राउ गरेको छ। तुम्बाहाङफेले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई राम्रो कम्पनीमा आकर्षक तलब (१ लाख रूपैयाँ) मिलाइदिने भनि पीडितबाट दुई लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ।
तुम्बाहाङफेलाई गौशालाबाट पक्राउ गरी प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।












