कान्तिपुरविरूद्ध रवि लामिछानेले दिए गाली बेइज्जती मुद्दा
आफ्नो गाली बेइज्जती हुने गरी समाचार लेखिएको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ बमोजिम सजाय र क्षतिपूर्तिको माग गरिएको छ ।
काठमाडौं, पुस १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर मिडिया पब्लिकेसनविरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन्। लामिछानेले मंगलबार अधिवक्ता अफताब आलमलाई वारेश राखेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका हुन्।
मुद्दा दर्ता गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफ्नो बदनाम गरेकाले कानुनी उपचारमा गएको उल्लेख गरेका छन्। आफ्नो गाली बेइज्जती हुने गरी समाचार लेखिएको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ बमोजिम सजाय र क्षतिपूर्तिको माग गरिएको छ ।
‘मेरो नाम राखिए÷देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो बचन भो,’ उनले लेखेका छन्, ‘मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरूद्ध कानुनी उपचारमा गएको छु।’
समाचारमा लेखिए जस्तो कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाला नभएको दाबी पनि उनले गरेका छन्।












