‘शिक्षाका सबै संरचनामा अब प्रतिस्पर्धाबाट छनोट हुन्छ’
‘मैले घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुने छैन। मेरिटोक्रेसीका आधारमा उपकुलपति लगायतका पदाधिकारीहरू नियुक्त हुनेछन्,’ उनले भने, ‘यसले योग्यहरूले जिम्मेवारी प्राप्त गर्ने अवसरको ढोका खुल्नेछ।’(6)-1704184747.jpeg)
काठमाडौं, पुस १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ढले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित ‘कान्तिपुर एजुकेशन समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रतिस्पर्धामार्फत् शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने र त्यसका लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्नलाई पहल गर्ने बताए।
‘मैले घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुने छैन। मेरिटोक्रेसीका आधारमा उपकुलपति लगायतका पदाधिकारीहरू नियुक्त हुनेछन्,’ उनले भने, ‘यसले योग्यहरूले जिम्मेवारी प्राप्त गर्ने अवसरको ढोका खुल्नेछ।’
राज्ञ, सरोकारवाला पक्ष र बौद्धिक व्यक्तित्वहरूको सहभागितामा आयोजित यस प्रकारको एजुकेसन समिटका निष्कर्षहरू नेपालको शिक्षा क्षेत्रमा रूपान्तरणका निम्ति सन्दर्भसामग्री हुनेछन् भन्ने आफूले विश्वास लिएको प्रधानमन्त्रीको भनाइ थियो ।
‘नीति निर्माणको क्षेत्रका साथै विज्ञहरू सम्मिलित यस बहसबाट निस्कने निष्कर्ष र सुझावहरू विद्यालय, क्याम्पस, विश्वविद्यालय लगायत देशकै सम्पूर्ण शैक्षिक संस्था, शिक्षा मन्त्रालय लगायत सरोकारवाला पक्ष र निकायहरूका निम्तिसमेत उपयोगी हुनेछन्,’ प्रधानमन्त्री दाहालले भने।
नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमले विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवहरूको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्ने प्रधानमन्त्री दाहालको भनाइ थियो।












