‘छिटो सम्पत्ति कमाउने लोभले रोजगारहरु नै विदेश पलायन भइरहेका छन्’

काठमाडौं, पुस १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले छिटो सम्पत्ति कमाउने लोभले रोजगारहरु नै विदेश पलायन भइरहेको बताएका छन्।
मंगलबार कान्तिपुर एजुकेशन समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले छिटो सत्तपत्ति कमाउने मोह बढ्नु चिन्ताको विषय भएको बताए।
‘उत्पादकत्वमा कमि, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ,’ प्रधानमन्त्री दाहालले भने, ‘तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिहरूमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ । यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो।’
शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको उल्लेख गरे।
शिक्षा लगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको उनले उल्लेख गरे। ‘भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयामिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ,’ उनले भने, ‘यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ।’












