विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै काठमाडौं महानगर
यस वर्ष ३६ वटा विद्यालयमा राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकताअनुसार जोखिम हेरेर अन्य विद्यालयमा पनि यस किसिमको व्यवस्था गर्ने बताइएको छ। हाल कामपामा ८९ सामुदायिक पाँच सय चार निजी विद्यालय सञ्चालित छन्।
काठमाडौं, पुस १६ : काठमाडौं महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन( सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारी गरेको छ।
यसअघि बबरमहलमा यस प्रणाली जडान गरिसकेको कामपाले अब २६ वटा सामुदायिक विद्यालय र १० वटा निजी विद्यालय गरी ३६ स्थानमा उक्त प्रणाली जडान गर्न लागेको कामपा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।
यस वर्ष ३६ वटा विद्यालयमा राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकताअनुसार जोखिम हेरेर अन्य विद्यालयमा पनि यस किसिमको व्यवस्था गर्ने बताइएको छ। हाल कामपामा ८९ सामुदायिक पाँच सय चार निजी विद्यालय सञ्चालित छन्।
‘मुख्य सडकसँग जोडिएका सबै विद्यालयमा यस किसिमको प्रणाली जडान गरिने छ। यस कार्यक्रमका लागि कामपाले चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ,’ श्रेष्ठले भने, ‘यस प्रणाली जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्न सहज गराउँदछ।’
विद्यालय आउने र जाने समयमा दुर्घटनाको जोखिम बढेको हुनाले कामपाले यस किसिमको प्रणाली जडान गर्न लागेको हो। यसले बालिबालिकालाई सडक सुरक्षा प्रदान सहयोग पुग्छ भने भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यावहारिक ज्ञान दिने विश्वास महानगरले लिएको छ ।
पैदलयात्रीले स्विच थिचेपछिको पाँच सेकेन्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ। एकपटक थिचेपछि ३० सेकेन्ड बत्ती बल्छ।
पहिलो ३० सेकेन्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन्। दुई मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ।
विद्यालय क्षेत्रमा राखिसकेपछि आवश्यकताअनुसार पैदलयात्रीको ठूलो चाप रहेको अन्य स्थानमा पनि यस किसिमको प्रणाली जडान गर्ने तयारी महानगरको छ । यसकारण पटकपटक पैदल यात्री दुर्घटनामा पर्ने गरेका छन्।
प्रणाली जडान भएपछि पैदल यात्रीहरूले सवारी साधन रोकिएको यकिन भएपछि मात्र सडक पार गर्ने अवसर हुने विश्वास महानगरको छ।












