‘बालकुमारी घटनाका दोषीलाई कारबाही हुनुपर्छ’
अध्यक्ष नेपालले बालकुमारी घटनामा समावजादीका नेता तथा मन्त्री प्रकाश ज्वालाको कुनै गल्ती नरहेको बताए। पार्टीको बैठकबाट सरकारी कामका लागि सिंहदरबार जाने क्रममा मन्त्री ज्वाला फसेको उनले बताए।
काठमाडौं, पुस १६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालकुमारी घटनाका दोषीलाई कारबाही हुनपर्ने बताएका छन्।
४८औं मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले अयोाजना गरेको कार्यक्रमलाई समम्बोधन गर्दै अध्यक्ष नेपालले बालकुमारी घटनामा जहाँबाट गल्ती भएको छ, उनीहरू दण्डित हुनुपर्ने बताए।
अध्यक्ष नेपालले बालकुमारी घटनामा समावजादीका नेता तथा मन्त्री प्रकाश ज्वालाको कुनै गल्ती नरहेको बताए। पार्टीको बैठकबाट सरकारी कामका लागि सिंहदरबार जाने क्रममा मन्त्री ज्वाला फसेको उनले बताए।
उनले मन्त्रीका पिएसओ र सुरक्षा अधिकारीबीच संवादको ‘ग्याप’ हुँदा घटना भएको पनि बताए।
‘बालकुमारीमा पार्टीको बैठक केन्द्रीय कमिटीको बैठक बसिरहेको थियो, हामी बैठकमा व्यस्त थियौं। त्यसपछि उहाँ सरकारी कामकाजको सिलसिलामा बैठकबाट बाहिर निस्किनु भएको थियो, त्यहाँ फस्नुभएको हो,’ नेता नेपालले भने, ‘सूचनाको कुनै अभाव रहन पुग्यो फलस्वरुप त्यो घटना घटेको हो, यसलाई अन्यथा नलिनु होला। पार्टीले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ।’
गत शुक्रबार बालकुमारीमा मन्त्री ज्वाला सवार गाडीमा आगजनी र तोडफोड भएको थियो। घटनामा प्रहरीको गोली र बल प्रयोगबाट दुई युवकको ज्यान गएको थियो । घटनापछि संसदीय समितिले मन्त्री ज्वालामाथि अनुसन्धानको माग उठाएको छ।
अध्यक्ष नेपालले नेपाली कांग्रेसले ०३३ साललाई जोडेर फेरि राष्ट्रिय मेलमिलापको कुरा गरेपछि आफ्नो मनमा चिसो पसेको बताए। राजावादीले टाउको उठाइरहेका बेलामा कांग्रेसले मेलमिलापको कुरा गर्दा राजासँगको सहकार्यका लागि त होइन भनेर आफ्नो मनमा चिसो पसेको बताएका हुन्।
उनले भ्रष्टाचार रहेसम्म कुनै पनि व्यवस्थाले जनतालाई विकास र समृद्धि दिन नसक्ने बताए । भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सक्ने हो भने अहिले ल्याएको व्यवस्था नै दुनियाँकै सबैभन्दा उत्तम हुने उनको भनाइ छ।
‘भ्रष्टाचार रहेसम्म कुनै पनि व्यवस्थाले जनतालाई विकास र समृद्धि दिन सक्दैन । त्यसकारण भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सक्ने हो भने हामीले अहिले ल्याएको व्यवस्था नै दुनियाँकै सबैभन्दा उत्तम हो,’ उनले भने।
उनले वर्तमानका चुनौतीलाई चुनौतीको रुपमा लिन नसके सामना पनि गर्न नसकिने बताए।












