दिल्लीमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दम्पतीलाई पक्राउ

काठमाडौं, पुस १६ : दिल्लीमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया टिकाकुमारी वली छन्। प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोका अनुसार टिकाकुमारीले आफूलाई अस्मिता भण्डारी र रिया वलीको नामले पनि चिनाउने गरेकी छन्।
भारत पुर्याइएका ९ युवतीलाई ७ चैत २०७९ मा उद्धार गरेर नेपाल ल्याएको थियो। उनीहरूले दिल्लीमा विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ राम्रो हुने प्रलोभन देखाएर नेपाली युवतीहरूलाई यौन व्यवसायमा लगाएको आरोप छ।
उनीहरूले दिल्लीमा किसनगढमा एक अपार्टमेन्ट भाडामा लिएर वेबसाइटमार्फत विज्ञापन गरेर यौनधन्दा चलाउने गरेको प्रहरीको दाबी छ। त्यसबाट भएको कमाइको २० प्रशित रकम युवतीहरुलाई दिएर ८० प्रतिशत उनीहरुले राख्ने गरेको एसपी पंगेनी बताउँछन्। यो दम्पतीविरुद्ध ०७९ चैतमा पनि ६ वटा मुद्दा दर्ता भएका थिए। त्यसमा प्रतिवादी भएकामध्ये ३ जना पुर्पक्षका लागि कारागारमा छन्।
अनुसन्धान जारी रहेका बेला उनीहरुले पुनः नेपालबाट युवतीहरुलाई झिकाएर यौन व्यवसाय सञ्चालन गरिरहेको सूच्ना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र किन इण्डिया नामक संस्थासँग समन्वय गरेर १० पुसमा दिल्लीबाट थप ५ जना पीडितको उद्धार गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।












