बालकुमारी घटना बाहिर जस्ताे देखिए पनि भित्र अर्कै हाे कि भन्ने लागिरहेकाे छ : प्रधानमन्त्री प्रचण्ड
कांग्रेसले राजधानीमा सोमबार आयोजना गरेको ४८औं मेलमिलाप दिवसको कार्यक्रममा उनले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा कुनै षड्यन्त्र रहेकाे हुन सक्ने आशंका गरे।
काठमाडौं, पुस १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बालकुमारी घटना बाहिर जस्ताे देखिए पनि भित्र अर्कै हाे कि भन्ने लागिरहेकाे बताएका छन्।
कांग्रेसले राजधानीमा सोमबार आयोजना गरेको ४८औं मेलमिलाप दिवसको कार्यक्रममा उनले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा कुनै षड्यन्त्र रहेकाे हुन सक्ने आशंका गरे।
उक्त घटना पूर्वानुमान गर्न सक्ने खालको नभएको बताउँदै उनले त्यतिबेला आफू दोलखामा रहेकाे र काठमाडाैं आएर भोलिपल्ट ब्रिफिङ लिँदा त्याे केही गम्भीर लागेको बताए।
‘दुई जना युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ । इपिएसकाे कार्यालयमा जेजस्ता गतिविधि भएका छन् । गाडी जलाउने जस्तो जस्तो गतिविधि भएको छ । चिज यस्तो छैन, जस्तो देखिएको छ। यो भित्र अर्कै केही छ भन्ने अनुभूति मलाई भएको छ।’
त्यसबारे कुनै प्रमाण नभए पनि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने प्रश्न उब्जिएको उनले बताए। तुरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा आफू पुग्नुकाे कारण रहेकाे उनकाे भनाइ थियाे। सरकारले तुरुन्तै काम गरे पनि केही गलत भाष्य बनिरहेको उनले बताए।












